जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा भयावह बन्दै कोरोना, हरेक १२ जनामा एक संक्रमित

एजेन्सी
भदौ १९, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण र यसबाट हुने मृत्यु बढ्दो क्रममा छ ।

भारतमा दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् भने, एक हजारको हाराहारीमा संक्रमितको मृत्यु हुने गर्छ ।

आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको कुल संख्या ३९ लाख ३६ हजार नाघेको छ ।

चार करोड ६६ लाख ७९ हजार जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । तुलनात्मक रुपमा हेर्दा भारतमा हरेक १२ जनामध्ये एक जनामा कोरोना संक्रमण भएको छ ।

भारतमा अहिले दैनिक १० लाखभन्दा बढी पीसीआर परीक्षण हुन्छ । हिजो (बिहीबार) झन्डै ११ लाख ७० हजारको पीसीआर परीक्षण गरिएको थियो ।

२४ घण्टामा यो संख्यामा पीसीआर गर्दा ८३ हजार २४१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामै १ हजार ९६ जनाको ज्यान गएको छ । योसँगै भारतमा मृतकको कुल संख्या ६८ हजार ४७२ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमितको संख्या ८ लाख ३१ हजारभन्दा बढी छ । ३० लाख ३७ हजारभन्दा बढी मानिस भने संक्रमणमुक्त भइसकेका छन् ।

कोरोना संक्रमण र मृत्यु दुवै मामलामा भारत अहिले विश्वको तेस्रो मुलुक हो ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा ६१ लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन् । अमेरिकामा एक लाख ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

दोस्रो स्थानमा ब्राजिल छ, जहाँ ४० लाखभन्दा बढी संक्रमित हुँदा एक लाख २५ हजारको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि