जेठ ०८, २०८१, मंगलबार
               

तेस्रो स्थानमा उक्लियो मेक्सिको

एजेन्सी
साउन १७, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा उक्लिएको छ । 

मेक्सिकोभन्दा अगाडि अमेरिका र ब्राजिल रहेको छ । पछिल्लो तथ्यांक अनुसार महामारी सुरु भएयता शुक्रबारसम्म मेक्सिकोमा ४६ हजार ६८८ जनाले ज्यान गुमाएका छन् ।  

शुक्रबार एकै दिन ६८८ जनाको मृत्यु भएको थियो । ब्राजिलमा ४ लाख २३ हजार ६३७ जना संक्रमित रहेका छन् । यसअघि ४६ हजार २०४ मृत्युसहित सबैभन्दा धेरै ज्यान गुमाउनेको देशको सूचीमा तेस्रो स्थानमा बेलायत थियो ।

स्थानीय अधिकारीहरुले मेक्सिकोमा कूल संक्रमितको संख्या तथ्यांकमा देखिएभन्दा धेरै रहेको हुनसक्ने बताएका छन् । 

संक्रमितको संख्या बृद्धि भइरहँदा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले भने देशको अर्थतन्त्रलाई पुनः चलायनमान बनाउन आतुर छन् । 

उनको सरकारले मेमा चरणबद्धरुपमा लकडाउन खुला गर्ने योजना घोषणा गरेको थियो । 

मध्य जुनदेखि हजारौँ कामदारहरु काममा फर्किएका थिए । त्यस्तै जुलाईदेखि अन्य व्यवसायलाई खुला गर्ने अनुमति दिइएको थियो । 

आलोचकहरुले भने लकडाउन गर्न ओब्राडोरले ढिलाइ गरेको र अहिले लकडाउन खुकुलो बनाउन हतारो गरेको आरोप लगाएका छन् ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको असर दशकौँसम्म रहने चेतावनी दिएको छ ।

-बीबीसी


कस्तो लाग्यो ?

यो पनि