जेठ ०६, २०८१, आइतबार
               

मध्यप्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी
साउन १०, २०७७

ADVERTISEMENT

भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जालमार्फत उनले यस बारेमा जानकारी दिएका हुन् । उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

मुख्यमन्त्रीले ट्विटरमा लेखेका छन्, 'मेरा प्रिय जनहरू, म कोभिड–१९ को लक्षणहरू अनुभव गरिरहेको छु, परीक्षणपछि मेरो रिपोर्ट पोजिटिभ आएको छ । म मेरा सबै सहकर्मीहरूलाई अपिल गर्दछु, जो कोही मसँग सम्पर्कमा आएका थिए उनीहरूको कोरोना परीक्षण गर्नुपर्छ, मेरो नजिकका व्यक्तिहरू क्वारेन्टाइनमा कस्नुपर्छ ।'

आफूले कोभिड–१९ का सबै निर्देशनहरू पालना गरिरहेको उनले जानकारी दिएका छन् । राज्यका सबै मानिसहरूलाई होशियार रहन उनले आग्रह गरेका छन् । उनले भनेका छन्, 'थोरै लापरवाहीले कोरोनालाई आमन्त्रित गर्दछ ।'

शिवराज सिंह चौहान र उनका मन्त्रीहरू शारीरिक दूरी नबनाएकोमा विपक्षी कांग्रेसको लगातार निशाना बनेका छन् । 

चौहान धेरै कार्यक्रमहरूमा आफ्ना मन्त्रीहरू, अधिकारीहरु तथा कामदारहरूसँग धेरै नजिक रहँदै आएका थिए । 

चिकित्सकको सल्लाहअनुसार आफू चिरायु अस्पतालमा भर्ना भएको मुख्यमन्त्री चौहानले बताएका छन् । आफू पूर्ण रुपमा ठिक रहेको समेत उनले जानकारी दिएका छन् ।

यसैबीच, त्यहाँका एक राज्यमन्त्री अरविन्द भदोरिया कोरोना संक्रमणको कारण अस्पताल भर्ना भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि