दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ ।
दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार यसबारे जानकारी दिएको हो । योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यस्तो निर्णय गरेको हो ।
दक्षिण कोरियाले तर पाकिस्तान र बंगलादेशका कूटनीतिक क्षेत्रका कर्मचारीहरुका साथै अत्यावश्यक व्यापारिक प्रयोजनका लागि प्रवेशाज्ञा आवश्यक परेकोमा भने दिने पनि जनाएको छ ।
दक्षिण कोरियामा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँका अधिकारीहरुले ती संक्रमितहरु पछिल्ला केही दिनमा पाकिस्तान र अफगानिस्तानबाट गएका नागरिकमा देखिएको बताएका छन् ।
सोही कारणले ती देशबाट हुने आवागमनलाई सरकारले रोक्ने जनाएको छ ।
साथै सरकारले ती देशबाट दक्षिण कोरियामा भइरहेका उडानहरुमध्ये नियमित बाहेकका अरु उडानलाई पनि हालका लागि रोक्ने जनाएको हो ।
शनिबारदेखि यहाँ ठूलो संख्यामा नयाँ संक्रमित भेटिएका बताइएको छ । निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन् ।
यहाँका स्वास्थ्य अधिकारीहरुले गत शनिबारमात्र ६७ जना संक्रमित भेटिएको बताएका थिए ।
गत मे २८ पछि यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ ।
यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ ।
प्राप्त समाचारमा यहाँ गत शनिबारको तथ्यांकमा १२ हजार ३७३ जना संक्रमित छन् ।
साथै यहाँका २८० जना नागरिकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।