भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना संक्रमित भएका छन् ।
त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांक छ ।
ती कुल संक्रमित मध्ये एक लाख ६३ हजार २४८ जना अझै पनि संक्रमित अवस्थामै छन् भने अरु दुई लाख चार हजार ७११ जना संक्रमणमुक्त भएका छन् । प्रदेशअनुसार हेर्दा भारतमा सवैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा छन् ।
महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५०४ जना संक्रमित छन् ।
त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९७९ जना संक्रमित छन् ।