जेठ ०५, २०८१, शनिबार
               

कोरोना भाइरसबाट ज्यान जोगाउन सक्ने औषधि पत्ता लाग्यो
'खासै महँगो छैन'

एजेन्सी
असार ०३, २०७७

ADVERTISEMENT

एउटा सस्तो र सहज रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्।

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धि मानिएको छ।

यसले भेन्टिलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एक जनाको जीवन जोगाउने देखिएको छ।

कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो।

अनुसन्धानकर्ताहरूले यदि उक्त औषधि सुरुदेखि युकेमा पाइएको भए पाँच हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन्।

यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च संख्यामा कोभिड-१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।

पुरानो औषधि

बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्सका अनुसार मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ होइन र यो खासै महँगो छैन।

उनी भन्छन्, 'यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन्।'

त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको छ।

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दमदेखि जोर्नीको दुखाइको उपचारका लागि प्रयोग गर्ने गरिएको छ।

गरिब देशलाई लाभ

कोभिड-१९ को संक्रमणमा भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिम घटाउनुलाई ठूलो उपलब्धि मानिएको छ।

सघन उपचार कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ।

अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड-१९ का बिरामीहरूलाई फाइदा पुर्‍याउने देखिएको छ।

त्यसले कोभिड-१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृत्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन।

त्यसमाथि रेम्डेसिभिर नयाँ औषधि हो र यसको आपूर्ति सीमित छ अनि मूल्य पनि तोकिन बाँकी छ।

-बीबीसी


कस्तो लाग्यो ?

यो पनि