जेठ ०५, २०८१, शनिबार
               

चीनमा महामारीको दोस्रो लहर ! बेइजिङमा ७९ जना संक्रमित

एजेन्सी
असार ०१, २०७७

ADVERTISEMENT

चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ पुगको छ । सोमबार थप ३६ जनामा संक्रमण पुष्टि भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुरले जानकारी दिएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार थप चीनभरमा ४९ जनामा कोरोनाभाइरसको संक्रमण फेला परेको जनाएको छ । 

यसमध्ये ३९ जना स्थानीय संक्रमण र १० जना विदेशबाट चीन आएका रहेका छन् । 

स्थानीय संक्रमणमध्ये ३६ जना बेइजिङ र ३ जना बेइजिङको छिमेकी प्रान्त हिबेईका रहेका छन् ।

५५ दिनसम्म संक्रमित फेला नपरेको बेइजिङमा जुन ११ यता ७९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै चीनमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरको चिन्ता शुरु भएको छ ।

फेला परेका नयाँ संक्रमित सिन्फादी होलसेल बजारसँग जोडिएका छन् । बेइजिङको दक्षिणपश्चिममा रहेको फेङताई जिल्लामा यो बजार रहेको छ । संक्रमितहरु यस बजारका ब्यापारी र ग्राहक रहेका छन् ।

नयाँ संक्रमित फेला परेसँगै जिल्लाका उपप्रमुखसहित अन्य स्थानीय अधिकारीहरुलाई कारवाही गरिएको सरकारले जनाएको छ । 

कोभिड–१९ नियन्त्रणको जिम्मेवारी असफल भएको भन्दै फेङताई जिल्लाका उपप्रमुख झोउ युकिङलाई पदबाट बर्खास्त गरिएको छ ।

जिल्लामा युद्धकालिन अवस्था घोषणा गर्दै बजारको वरपर रहेका ४६ हजार वासिन्दाको परीक्षण गर्ने तयारी गरिएको छ ।

नयाँ संक्रमित फेला परेसँगै बजारलाई बन्द गरिएको छ भने ११ आवासीय क्षेत्रमा लकडाउन लागू गरिएको छ । विद्यालयहरु पनि बन्द गर्न लगाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङमा फेला परेका पहिलो संक्रमितलाई गत जुन ९ मा लक्षणहरु देखापरेको थियो भने जुन ११ मा संक्रमण पुष्टि भएको थियो ।

चीनमा शनिबार पुष्टि भएका १९ मध्ये १७ आयातित संक्रमित दक्षिण एसियाका रहेका छन् । गुवाङडोङ प्रान्तमा भेटिएका उनीहरुमध्ये १४ जना बंगलादेश र ३ जना भारतबाट आएका थिए ।

हालसम्म चीनमा ८३ हजार १८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने १७७ जनाको उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि