नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएपछि ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । आइतबार दिउँसोबाट उनीको स्वास्थ्यमा समस्या आए पनि सोमबार स्वास्थ्य अवस्था थप बिग्रिएपछि कोभिड–१९ संक्रमणको आशंकामा उनी सेल्फ आइसोलेसनमा बसेको बताइएको छ ।
समाचार अनुसार उनलाई आइतबार दिउँसोदेखि नै ज्वरो र खोकीको समस्या थियो । लगत्तै केजरीवालले औपचारिक कार्यक्रम रद्द गरेर आफूलाई आइसोलेसनमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चिकित्सकको एउटा समूहले उनको स्वास्थ्यबारे निगरानी गरिरहेको जनाइएको छ । दिल्ली सरकारले कोरोनाको लक्षण विनाका बिरामीलाई कोभिड–१९ भाइरसको परीक्षण गर्न रोक लगाएका कारण मुख्यमन्त्री केजरीवालको स्वास्थ्य परीक्षण पनि प्रभावित भएको छ ।
चिकित्सकले केजरीवाललाई सामान्य ज्वरो नभई कोभिड–१९ सँग सम्बन्धित ज्वरो आएको र उनमा खोकीको पनि समस्या रहेकाले कोरोना संक्रमण हुन सक्ने अनुमान गरेका छन् । कोरोनासँग मिल्दो लक्षण देखिएको भन्दै उनको मंगलबार कोभिड–१९ को संक्रमणसम्बन्धी परीक्षण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।