जेठ ०८, २०८१, मंगलबार
               

डब्लूएचओले गर्यो मास्कबारे नयाँ निर्देशिका जारी

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा नयाँ निर्देशिका (गाइडलाइन) जारी गरेको छ । मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबै व्यक्तिलाई यसका बिरामी नजिक, सार्वजनिक स्थान तथा भिडभाडमा जाँदा अनिवार्य मास्क लगाउन सुझाव दिएको हो ।

यसअघि डब्लूएचओका विशेषज्ञ मास्कले कोरोना भाइरस रोक्छ कि रोक्दैन भन्नेमा दुविधामा परेका थिए। यसैकारण उनीहरूले सर्वसाधारण सबैले मास्क लगाउनुपर्छ भन्न सकेका थिएनन् ।

तर, अहिले कोरोना सर्ने नयाँ तरिका पत्ता लागेको भन्दै कोरोना संक्रमण सर्ने जोखिम स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरेको हो ।

डब्लूएचओका अनुसार कोरोनाका लक्षण देखिनुअघि पनि व्यक्ति संक्रमित भइसकेको हुन सक्ने अर्थात् संक्रमित भइसकेर पनि कसैमा कुनै लक्षण नदेखिने तथ्य पत्ता लागेको हो ।

यसले गर्दा सबैसँग सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको हो ।

जस्तैः सवारीसाधनमा यात्रा गर्दा, बजार जाँदा अर्थात् घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्छ, जसले संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँदा गर्दा निकाल्ने थुकका छिटाबाट बचाउन मद्दत गर्छ ।

यस्ता स्थानमा जाँदा सामान्य र स्वस्थ व्यक्तिले साधारण तथा घरमै बनाइएको लुगाको मास्क पनि लगाउन सक्ने तर ६० वर्षभन्दा माथि उमेर भएकाले अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने  डब्लूएचओको नयाँ निर्देशिकामा उल्लेख छ । बीबीसी 


कस्तो लाग्यो ?

यो पनि