काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो ।
पछि उनको स्वास्थ्य स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार मृत्यु भएको हो ।
मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।
पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।