चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् .
कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरू थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै गएको छ ।
सरकारी अधिकारीहरूले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरूमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन सहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरू ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।