एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणका उपाय असफल भए अफ्रिकामा महामारीको पहिलो वर्ष १ लाख ९० हजार मानिसको मृत्यु हुने चेतावनी दिएको छ ।
अफ्रिकामा २ करोड ९० लाखदेखि ४ करोड ४० लाख मानिसहरु संक्रमित हुनसक्ने र ५५ लाख मानिसलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्ने डब्लुएचओले चेतावनी दिएको हो ।
गत मार्चमा अफ्रिकामा गरिएको स्वास्थ्य सेवाको अनुसन्धानमा यस महादेशका ४७ मुलुकमा १० लाख मानिसका लागि जम्मा ९ वटा आइसीयु बेड रहेको पाइएको थियो । यो निकै अपर्याप्त रहेको डब्लुएचओको भनाइ छ । अध्ययनमा अस्पतालको क्षमता बिस्तार गर्न सुझाव दिइएको छ ।
अफ्रिकाका लागि डब्लुएचओकी क्षेत्रीय निर्देशक डा. मात्सिदिसो मोइतीले अफ्रिकी मुलुकका सरकारहरुले सुरक्षात्मक उपाय नअपनाउने हो भने कोभिड १९ आगामी कैयौं वर्षसम्म रहने उल्लेख गर्दै परीक्षण, पहिचान, आइसोलेट र उपचार आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म यहाँका सरकारहरुले अस्पतालको क्षमता बिस्तार गर्न सक्रियता देखाएका छैनन् ।’
उक्त अध्ययनमा अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनले रोकथामका उपायमा ध्यान नदिए सबैभन्दा धेरै खतरा हुनसक्ने उल्लेख गरिएको छ। आगामी दिनमा स्वास्थ्य सेवा धेरै चुनौतीपूर्ण हुने चेतावनी डब्लुएचओको छ ।