भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा रहेको रसायन प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ५ हजारभन्दा बढी मानिस त्यो विषालु ग्यासका कारण बिरामी भएका छन् । सो ग्यासका कारण मानिसको आँखा तथा श्वास प्रश्वासमा समस्या भएको छ ।
बिहीबार बिहान करिब ३ बजे ग्यास लिक भएपछि प्लान्ट छेउछाउको बस्तीमा भागाभाग भएको थियो । त्यसपछि प्रहरीले त्यस क्षेत्रका पाँच वटा गाउँ खाली गराएको छ । अहिले पाँच किलोमिटरभन्दा टाढासम्म ग्यास फैलिएको छ ।
बिरामीको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । करिब ५० वटा एम्बुलेन्स त्यस क्षेत्रमा तैनाथ गरिएको छ ।
भारतभर लकडाउनका कारण त्यो प्लान्ट केही समय बन्द थियो । लकडाउन खुकुलो पारेका कारण प्लान्ट खुलेको थियो ।
सन् १९६१ मा खुलेको प्लान्टमा प्लास्टिक बनाउने काम हुने गरेको थियो ।
- इन्डिया टाइम्सबाट