एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनसँग निकै आक्रामक भएका छन् । कोरोना भाइरस चीनले फैलाएको ट्रम्पले यसअघिदेखि नै आरोप लगाउँदै आएका छन् ।
यसैबीच, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई सुरुवातदेखि नै रोक्न सकिने बताउँदै तर यस्तो नभएकोले यसको नतिजा सारा संसारले भोग्नुपरेको बताएका छन् ।
पत्रकारले ट्रम्पलाई सोधे, ‘चीनको ऊहान शहरबाट गत डिसेम्बरदेखि कोरोनाभाइरसको संक्रमण सुरुवात भएको र हालसम्म एक लाख ५७ हजारभन्दा बढीको ज्यान गइसकेकोले यसका लागि चीनले नतिजा भोग्नुपर्छ ?’
जवाफमा ट्रम्पले भने, ‘यदि उनीहरुले यस्तो जानीजानी गरेका हुन् भने उनीहरुले पक्कै पनि यसको नतिजा भोग्नुपर्ने हुन्छ । यदि गल्ती हो भने गल्ती त आखिर गल्ती नै हुन्छ । तर यदि उनीहरुले जानीजानी यस्तो गरेको भए त यसको नतिजा कुनै पनि हालतमा भोग्नुपर्ने हुन्छ ।’
ट्रम्पले भने, ‘चीन चुक्यो वा यसले नियन्त्रण गर्न सकेन अथवा यसले जानीजानी यस्तो गर्यो ? यी कुरामा निकै भिन्नता छ । यसको उनीहरुले अनुसन्धान गरिरहेको छ । हामी पनि प्रतिक्षा गरिरहेका हौं । तर हामी आफैं पनि यसबारे अनुसन्धान गरिरहेका छौं ।’