एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विरामी परेर अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर सारिएको छ ।
कोरोना सङ्क्रमण देखिएका बेलायती प्रधानमन्त्री जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचाररत छन् । उनलाई बिहीबार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्याइएको थियो । त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो ।
उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएको छ ।