जेठ ०१, २०८१, मंगलबार
               

आगलागी हुँदा चार घर जलेर नष्ट

नेपाल फ्ल्यास
चैत २२, २०७६

फाइल फोटो
ADVERTISEMENT

सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हरिवन-२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु महतोको घरको बिजुली चुहावट हुँदा आगलागी भएको थियो ।

आगलागीबाट रामबाबुको घरसँगै अरु तीन वटा घर पनि जलेको छ । आगलागीबाट रामबाबु महतोको काठ र खपडाले बनेको दुईतले घर पूर्ण रुपमा जल्दा २० लाखको क्षति भएको छ । त्यस्तै निजको छोरा राजकिशोर महतोको एकतले कच्ची घर पनि पूर्ण रुपमा जलेर पाँच लाख बराबरको क्षति भएको छ । 

आगलागीबाट स्थानीय लालबाबु महतोको एकतले घर जलेर १५ लाख बराबरको क्षति भएको छ भने स्थानीय रामजनम हताको दुईतले घरको आधा भाग जलेर नष्ट भएको छ । आगलागीबाट उनको दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगो हरिवन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । 

यसैबीच जिल्लाको धनकौल गाउँपालिकामा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा तीन जनाको फुसको घर जलेर नष्ट भएको छ । धनकौल गाउँपालिका–२ निवासी रामप्रसाद रायले बालेको घुरबाट आगलागी हुँदा निजको फुसको घर जल्नुका साथै उनको छिमेकी जादु राय र कैलाश रायको फुसको घर शुक्रबार राति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागीबाट ७५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको स्थानीयवासी राजेश झाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि