जेठ ०१, २०८१, मंगलबार
               

विदेशबाट फर्किएका २५७ जना होम क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विश्वमा फैलिएको कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिम तथा नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको हो ।

विदेशबाट फर्किएकामा कोरोना भाइरसको सङ्क्रमणको सम्भावना हुने भएकाले सुरक्षित रूपमा होम क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए, “होम क्वारेन्टाइनमा बसेकामध्ये बेँसीशहर नगरपालिकामा ४६, मध्यनेपाल नगरपालिकामा १६, राइनास नगरपालिकामा ४५, दूधपोखरी गाउँपालिकामा १९, दोर्दी गाउँपालिकामा २०, सुन्दरबजार नगरपालिकामा ६०, मस्र्याङ्दी गाउँपालिकामा ४८ र क्वहोलासोथर गाउँपालिकामा तीन जना होम क्वारेन्टाइनमा रहेका छन् । जिल्लाका आठै स्थानीय निकायमा जनप्रतिनिधिले वडा वडाबाट विवरण सङ्कलन गरिरहेका छन् ।

त्यस्तै विदेशबाट फर्किएका २६ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । रोजगारीका लागि भारत, कतारलगायतका देशमा गएर फर्किएका २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । यही चैत १ गते देखियता विदेशबाट आएकामध्ये २६ जनालाई विभिन्न स्थानीय तहले जिल्लामा निर्माण गरिएको विभिन्न सेल्फ क्वारेन्टाइनमा राखेका हुन् । 

    जिल्लाको क्वहोलासोथर गाउँपालिका–९ स्थित थल्जुकन्या प्राविमा निर्माण गरिएको क्वारेन्टाइनमा आठ जना, वडा नं ८ घाम्राङबेंसीस्थित चन्द्रदय प्राविमा निर्माण गरिएको क्वारेन्टाइनमा पाँच गरी १३ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताए । 

त्यस्तै मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा नौ जना राखिएको छ । मस्र्याङ्दी गाउँपालिका–५ मा विदेशबाट फर्किका तीन जनालाई क्वारेन्टाइनमा राखिएको र अन्यको पनि खोजीकार्य भइरहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । त्यस्तै बेँसीशहर नगरपालिका–२ भुकुण्डेमा एक जना विदेशबाट फर्किएकालाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । 

त्यस्तै नौ जना विदेशी नागरिकलाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । यीमध्ये बेँसीशहर नगरपालिका–२ भकुण्डेको बालकल्याण माध्यमिक विद्यालयमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा सात भारतीय नागरिकलाई राखिएको सोही वडाका वडाध्यक्ष गणेश कँडेलले बताए। 

मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित आमा समूहको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा दुई जर्मन नागरिक राखिएको छ । जिल्लामा शनिबारसम्ममा विभिन्न स्थानीय तहले ८०० भन्दाबढी क्वारेन्टाइन निर्माण गरिसकेका छन् । विभिन्न स्थानीय तहले कोरोना सङ्क्रमणको लक्षण देखिएमा वा उपचारका लागि एक दर्जनभन्दा बढी निःशुल्क एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् । 

जिल्लामा सरकारले लागू गरेको लकडाउनको पूर्ण रूपमा सफल बनाउन र कोरोना फैलिन नदिन उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । 


कस्तो लाग्यो ?

यो पनि