जेठ ०६, २०८१, आइतबार
               

डोनाल्ड​​​​​​​ ट्रम्पलाई कोरोना नेगेटिभ

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनीमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । 

खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उनको प्रतिनिधिमण्डलका सदस्यहरूको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका गरिएको थियो ।

राष्ट्रपतिको स्वास्थ्य परीक्षणमा संलग्न फिजिसियन सिन कोन्लीले राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षण गर्न स्वीकार गरेका र रिपोर्टमा कोरोना सङ्क्रमण नदेखिएको बताए । 

संयुक्तराज्य अमेरिकामा कोराना सङ्क्रमणबाट कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य आपतकाल घोषणा गरेका थिए । देशभरका स्कुल र कलेजहरू बन्द गर्नुका साथै लाखौं मानिसलाई घरबाटै काम गर्न भनिएको छ ।

अमेरिकी शहर न्यूयोर्कमा शनिबार एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यहाँ डिपार्टमेन्टल स्टोरमा सामानको अभाव हुनुका साथै शनिबार मानिसहरू सामान खरिद गर्न तँछाडमछाड गरेका दृश्य देखिएको छ । 

उपराष्ट्रपति माइक पेन्सले संयुक्तराज्य अमेरिका भ्रमण गर्न चाहनेहरूका लागि थप कडाई गर्नु परेको बताएका छन् । उनले मङ्गलबारदेखि लागू हुने गरी बेलायत र आयरल्यान्डमाथि पनि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए । अब कुनै पनि युरोपेली मुलुकबाट अमेरिका यात्रा गर्न नपाइने अवस्था सिर्जना भएको छ । 

अमेरिकी विमानस्थलमा यात्रुहरूमाथि कडा जाँच गर्नु परेका कारण विमानस्थलहरूमा भिडभाड देखिएको छ । मानिसहरूलाई सम्पूर्ण जाँच प्रक्रिया पूरा गर्न घण्टौ लाइनमा बस्नु परेको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको प्रसार तिब्र भएलगत्तै आपतकालको घोषणा गर्नुका साथै विपद राहतका लागि ४० अर्ब अमेरिकी डलरको राहत घोषणा गरेका छन् । 

कोरोना सङ्क्रमणका कारण विश्वका १३७ देशका ५ हजार ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि