जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाको डरले ५४ हजार कैदी रिहा

एजेन्सी
फागुन २१, २०७६

ADVERTISEMENT

बिबिसी । धेरै चाप भएका कारागारमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका 'सुरक्षासँग सम्बन्धित कैदीहरू'लाई भने छाडिएको छैन।

एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।

ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ 'सम्भवतः केही समयका लागि आज वा भोलि रिहा हुने' बताएकी छन्।

उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।

रेट्क्लिफलाई जासुसीको आरोपमा सन् २०१६ मा पाँच वर्षका लागि जेल हालिएको थियो।

आफूलाई लागेको आरोप उनले अस्वीकार गरेकी छन्। यूकेले पनि उनी निर्दोष रहेको दाबी गर्दै आएको छ।

विदेश मन्त्रालयका एक अधिकारीले भने, 'हामी इरानी सरकारलाई तत्कालै स्वास्थ्यकर्मीहरूलाई एविन जेलभित्र जान दिइयोस् र त्यहाँ रहेका ब्रिटेन र इरानको दोहोरो नागरिकता भएका व्यक्तिहरूको अवस्थाबारे जाँच गरियोस् भन्ने आह्वान गर्छौँ।'


कस्तो लाग्यो ?

यो पनि