जेठ ०८, २०८१, मंगलबार
               

दक्षिण कोरियामा कोरोनाको महामारी, नेपाली दूतावासको यस्तो अपिल

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

काठमाडौं । चीनबाट फैलिएको कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण अहिले दक्षिण कोरियामा तीव्र रुपमा फैलिएको छ । 

दक्षिण कोरियामा एक दिनमै कोरोना भाइरसको संक्रमण दोब्बर भन्दा बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिबिसीका अनुसार, शनिबार मात्र थप २२९ जनामा कोरोना भाइरससंक्रमण भएको पुष्टि भएको हो । दक्षिण कोरियामा शुक्रबारदेखि ठूलो संख्यामा संक्रमण देखिएको छ । शुक्रबारयता दक्षिण कोरियामा संक्रमितको संख्या ४३३ पुगेको छ।

संक्रमित हुनेहरु अधिकांश दक्षिण कोरियाको दक्षिण–पूर्वी शहर डेइगूका हुन् । सो क्षेत्रको एक अस्पताल तथा धार्मिक समूहमा रहेका मानिसमा संक्रमण भएको हो । 

अहिलेसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

दूतावासको अपिल

यसैबीच, दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन नेपालीहरुलाई अपिल गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो ।

कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

कोरोनाभाइरस संक्रमित क्षेत्रमा नेपाली विद्यार्थी तथा श्रमिकहरु रहेका छन् । 

दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपाली सुझाव दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि