बैशाख २३, २०८१, आइतबार
               

उहानबाट कोरियालीको उद्धार, छ जनामा भाइरसको लक्षण

रासस
माघ २९, २०७६

ADVERTISEMENT

एजेन्सी । काेरोना भाइरसबाट प्रभावित चिनियाँ सहर उहानबाट १ सय ४७ जना दक्षिण कोरियालीलाई विमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरूमा १ सय ४७ जना कोरियाली नागरिक, उनीहरूका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

उद्धार गरिएका व्यक्तिहरू चढेको चार्टर्ड विमान बिहान ६ बजे पश्चिमी सियोलको गिम्पो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । कोरोना भाइरसको लक्षण देखिएका यात्रुहरूलाई थप मेडिकल जाँच र उपचारका लागि नजिकको अस्पतालमा पठाइएको थियो । बाँकी यात्रुहरूलाई सियोलको बाहिरी इलाकामा बनाइएको अस्थायी शिविरमा राखिएको छ । 

दक्षिण कोरियामा एक दर्जनभन्दा बढीमा कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ । चीनको उहानमा घातक कोरोना भाइरसका कारण मानिसहरु बिरामी हुनेक्रम जारी रहेपछि १५ दिनभित्रै दुई उडानबाट ७ सय १ जनाको उद्धार गरिएको छ । 

तेस्रो उडानका यात्रुहरूमध्ये करिब ६० जना चिनियाँ नागरिक छन् । उनीहरू दक्षिण कोरियाली परिवारका सदस्य रहेको र उनीहरूलाई चिनियाँ अधिकारीहरूको स्वीकृति लिएर उडानमा समावेश गरिएको हो । 

सियोलले पछिल्लो उडानमा ७० जना चिनियाँ सहित १ सय ७० जनालाई कोरिया ल्याउने योजना बनाएको थियो । तर, सबै व्यक्ति विमानमा किन आएनन् भन्ने अन्योल नै छ । 

उद्धार गरिएका व्यक्तिहरूलाई सियोलबाट करिब ८० किलोमिटर टाढाको इन्चोनमा १४ दिनसम्म अस्थायी शिविरमा राखिने अधिकारीहरूले बताएका छन् । अझै पनि उहानमा करिब एक  सयजना दक्षिण कोरियालीहरू रहेको विश्वास गरिएको छ । 

दक्षिण कोरियामा दुई दर्जनभन्दा बढी व्यक्तिमा कोरोना भाइरस रहेको पत्ता लागिसकेको छ यद्यपि कुनै पनि व्यक्तिको आजसम्म मृत्यु भएको छैन । चीनमा भने भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय पुगिसकेको छ भने ४४ हजारमा संक्रमण देखिएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि