बैशाख १३, २०८१, बिहीबार
               

मिर्गौला प्रत्याराेपण र डायलासिसमा ठूलो परिवर्तन हुन्छ : राज्यमन्त्री श्रेष्ठ

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, मिर्गौला र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी बेहाेर्नुपर्ने बताएका छन् ।

आज (बुधवार) सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटामात्रै उपचार गर्ने अस्पताल भएकाले किड्नी प्रत्याराेपण गर्नका लागि पनि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए । उनले डायलासिस गर्नका लागि आवश्यक्ताअनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले जिल्लादेखि प्रदेशसम्म डायलासिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनुपर्ने बताए । उनले सरकारले थोरैमा दुई सयदेखि तीन सय वटा डायलासिस सेन्टर बनाउनुपर्ने योजना बनाएको पनि बताए । सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने राज्यमन्त्री श्रेष्ठले बताए ।

अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेशन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिए । उनले प्रत्याराेपण र डायलासिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने दाबी गरे ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई एक करोड ७७ लाख कोरोनाविरुद्धको खोप प्राप्त भएको बताए । उनले तीन करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको बताए । उनले दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताउँदै दशैँसम्म पहिलो डोज लगाउनेको सङ्ख्या एक करोड पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए । 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बीमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले बीमा भएकाहरूले वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने बताए । उनले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि