बैशाख ११, २०८१, मंगलबार
               

यसरी बनाउन सकिन्छ मिठो दर

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तिजको पहिलो दिन आज दर खाएर मनाइदैं छ । दर खाएको भोलिपल्ट व्रत भएकोले दिउँसो भरी नाचगान गर्दै नारीहरुले पीडा पोख्दा चर्को घाममा उनीहरुलाई समस्या नहोस् भनेर दर खाने प्रचलन रहेको छ ।

हरितालिका तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, नाचगान तथा दिदीबहिनी भेटघाट गर्ने चलन छ । हुनत अहिले चलन फेरियो । केहि हप्ता अघिदेखिनै काठमाडौ लगायतका सहरमा यो रमझम छ । दर खाने र खुवाउने कार्यक्रम भइरहेका छन् । सहर बजारमा हुने यस्ता दर कार्यक्रममा भेज तथा ननभेज दुवैथरी भोजन समावेश गरिएका हुन्छन् । 

तीजमा पकाइने दर एक विशेष प्रकारको दूधजन्य खाना हो । आफ्नो इच्छा र चाहना अनुसार यसलाई जसरी पनि बनाउन सकिन्छ । तर, स्वास्थ्यको ख्याल राखेर दर यसरी बनाउन सकिन्छ ।

यसरी बनाउनुस् मिठो दर
आवश्यक सरसामग्री
(१) चामल (आवश्यकताअनुसार, परिवार सदस्यको आधारमा निर्धारण गर्नुहोस्)
(२) दूध (आवश्यकताअनुसार, चामलको मात्रा हेरेर, लगभग आधा केजी चामलबराबर ३ लि.)
(३) घ्यू (तयार गरिएको चामल भुट्न पुग्नेगरी)
(४) मरमसला (नरिवल, काजु, बदाम, छोकडा, ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) को धुलो)
(५) चिनी (आवश्यकता र स्वादअनुसार)
(६) कराई (उपलब्ध भएसम्म किटको नत्र अलि बाक्लो पिँध भएको ठूलो कराई)
(७) काक्रोको अचार
(८) आलु र करेला तथा बोडीको तरकारी

पकाउने तरिका
(१) कराई राम्रोसँग तताउनुहोस् ।
(२) तातेको कराईमा घ्यू राख्नुहोस् ।
(३) घ्यू राम्रोसँग ततेपछि चामल राख्नुहोस् ।
(४) सानो आगो पारेर चामललाई राम्ररी खैरो हुने गरी भुट्नुहोस् ।
(५) चामल खैरो भइसकेपछि घ्यूबाट छुट्याएर कुनै भाँडामा खन्याउनुहोस्, चामल डढ्न नदिनुहोस्, कराईलाई आगोबाट निकाल्नुहोस् र सेलाउन दिनुहोस् ।
(६) यो समयमा आवश्यक मरमसला तयार गर्नुहोस् । स्वादअनुसार नरिवल, काजु, बदाम, छोकडालाई कोरेसोमा कोरेर वा मसिनो गरी काटेर तयार गर्ने । ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) लाई भने पिसेर धुलो बनाउने ।
(७) निकालेको चामल सेलाई सकेपछि पुन कराईमा राखेर आगोमा बसाउने ।
(८) अब दूध आवश्यकताअनुसार राख्ने र राम्रोसँग चलाई रहने ।
(९) दूध सुक्न लागेपछि चिनी राख्ने र राम्रोसँग चलाउने । (चिनीलाई दूध सुक्न नपाई कहिलेपनि नहाल्नुहोस् यसो गर्दा चामल डढ्छ)
(१०) अब तयार गरेको मरमसला सबैतिर पुग्नेगरी माथिबाट छर्नुहोस् र राम्रोसँग चलाउनुहोस् ।
(११) दूध राम्रोसँग सुकिसकेपछि कराईलाई आगोबाट निकाल्नुहोस् । केहीबेर सेलाउन दिनुहोस् तर नछोप्नुहोस् ।
(१२) अब दर तयार भयो आवश्यकता र उपलब्धताअनुसार तरकारी र अचार राखेर खानुहोस् । एजेन्सी


कस्तो लाग्यो ?

यो पनि