बैशाख १८, २०८१, मंगलबार
               

काठमाडौंमा एस्ट्राजेनेका खोपको पहिलो डोज दिइँदै

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा (डोज) सर्वसाधारणलाई दिन थालेको छ ।

विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो ।

कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको जानकारी दिए ।

जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो ।

भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा एस्ट्राजेनिका खोप प्राप्त भएको थियो ।

पैँसट्ठी वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएकालाई भूटान र जापानबाट प्राप्त एस्ट्राजेनिका खोप प्रदान गरिएको थियो । 

स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखा प्रमुख डा.झलक शर्मा गौतमले सबै ज्येष्ठ नागरिकले दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका नलगाएको हुनाले बचेको हुनसक्ने बताए । काठमाडौं जिल्लाका सबै स्थानीय तहमा खोप लगाउन थालिएको छ ।

कार्यालयका अनुसार काठमाडौं  महानगरपालिकाका पाँच खोप केन्द्र तथा कीर्तिपुर, तारकेश्वर, नागार्जुन, बूढानीलकण्ठ, कागेश्वरी–मनहरा, टोखा र गोकर्णेश्वर नगरपालिकामा एक/एक खोप केन्द्र तोकिएको छ । 

महानगरपालिकामा राधस्वामी आइसोलेशन सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

कार्यालयले महानगरपालिकामा आवश्यकताअनुसार खोप केन्द्र थप्ने बताएको छ । अहिलेसम्म नेपालमा ४७ लाख ६४ हजार आठ सय ६५ व्यक्तिले पहिलो मात्रा र ३५ लाख ८६ हजार ६७३ ले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि