काठमाडौं । पूर्वरानी कोमल शाहलाई आइसियुमा सारिएको छ । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियुमा सारिएको हो । नर्भीक अस्पतालका अनुसार शाहको शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा जानकारी दिएको छ ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको जनाएको छ । ‘अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
अस्पताल उच्च स्रोतका अनुसार पूर्वरानी शाहलाई अस्पताल पुर्याएदेखि नै अक्सिजनको कमीका कारण धेरै मात्रामा अक्सिजन दिएर राखिएको थियो । अहिले भने हाईफ्लो अक्सिजनको आवश्यकता परेका कारण आईसीयूमा सारिएको हो । 'उहाँको अवस्था निकै गम्भीर छ । यस्तै अवस्था रहे कुनै पनि समय भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ,' स्रोतले भन्यो, 'पूर्वराजालाई भने अहिले सामान्य अक्सिजन सपोर्ट मात्रै चाहिएको छ ।'
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको बताइएको छ । तथापि उनको पनि उपचार अक्सिनको सपोर्टमा भइरहेको बताइएको छ।
पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भएकाले अक्सिजनको सपोर्ट दिनु नपरेको बताइएको छ ।कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र , पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह गत वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।
भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर पूर्वराजदम्पत्ति वैशाख ५ गते नेपाल फर्किएका थिए ।