जेठ ०१, २०८१, मंगलबार
               

स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ । संघको कार्यालयमा भएको विज्ञहरूसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो । 

संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरूमा स्वास्थ्य संकटकाल घोषणा गर्दै उक्त जिल्लामा लकडाउन गरेर सङ्क्रमितको सहज उपचारको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

संघले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरूसँग समन्वय गरी इलेक्टिभ सर्जरी तथा नियमित स्वास्थ्य परीक्षणलाई बन्द गर्दै कोभिड–१९ को उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नु पर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडियुको सङ्ख्या तुरुन्त थप गर्नुपर्ने माग पनि राखेको छ ।

संघका १८ बुँदे सुझावसहितका माग

नेपाल सरकारले संबोधन गर्नु पर्ने बुँदाहरू 

१)     नेपालमा पनि सेकेन्ड वेभ आइसकेर कोभिडको नयाँ भेरियन्ट प्रमाणित समेत भई धेरै नागरिकहरूले मृत्युवरण गर्नु परिरहेको परिस्थितिलाई गम्भीर रुपमा लिँदै दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरू नै संक्रमित भएको तथा अस्पतालका बेडहरू समेत कोभिड –१९ का कारण  बिरामीहरूले भरिएकाले नेपाल सरकारले अविलम्ब बढी संक्रमित भएका जिल्लाहरूमा मेडिकल इमरजेन्सी घोषणा गरी  बन्दा बन्दी गर्दै नागरिकहरूको स्वास्थ्य उपचारलाई सहज बनाउनु पर्ने । 

२) सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरूसँग समन्वय गरी Elective Surgery तथा नियमित स्वास्थ्य परीक्षणलाई बन्द गर्दै COVID19 को उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नु पर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडियुको सङ्ख्या तुरुन्त थप गर्नुपर्ने ।

३)  कोभिड अस्पताल घोषणा गरी सङ्क्रमितहरूलाई छुट्टै उपचार गर्नु पर्ने । 

४) स्वास्थ्य संस्थालाई भौतिक तथा प्राविधिक रुपमा सबल र सक्षम बनाउनु पर्ने साथै कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरूको सहज उपलब्धता गराउनु पर्ने । 

५)     कोभिडमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने र घोषणा गरिएको जोखिम भत्ता तथा बीमालाई प्रभावकारी रुपमा लागू गरिनु पर्ने । 

६)     सार्वजनिक स्थानहरूमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाइका साथ लागू गर्नु पर्ने र भिडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरू बन्द गर्नु पर्ने । 

७) फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी एवम् चिकित्सकहरू कोभिड–१९विरुद्धको खोपबाट अझै पनि वञ्चित रहेको हुँदा कोभिड१९ विरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउनु पर्ने ।

८) चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको दरबन्दी न्यून भएको हुनाले सो दरबन्दी तुरुन्त थप गर्नु पर्ने र चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने पिपिई र कोभिड१९ सम्बन्धी तालिम दिनु पर्ने ।

९) कोभिड १९ को दोस्रो वेब समुदायमा पनि फैलिसकेको हुनाले पोजेटिभ देखिएका   केसहरूका कन्ट्याक्ट ट्रेसिङ गरी टेस्टको दायरा बढाउनु पर्ने र Hotspot भएको ठाँउहरुमा फ्री आरटीपिसिआर गरी पोजेटिभ देखिएका केसहरूलाई आइसोलेसनको उचित व्यवस्था मिलाउनु पर्ने । 

१०) कोभिड १९ आइसकेपछि सुरु गरिएका स्वास्थ्यका कार्यक्रम तथा योजनाहरू यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने । 

११)  दीर्घ रोगका उपचारमा रहेका बिरामीहरूको सहज उपचारका लागि छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने ।

सर्व साधारण नागरिकहरूका लागि 

१)     बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने ,साबुन पानी वा स्यानिटाइजरले हात धुने र बालबालिकाहरू तथा परिवारका अन्य सदस्यहरूलाई पनि मास्कको उचित प्रयोग गर्न लगाउने । 

२)     भिडभाड नगर्ने तथा भिडभाड भएको स्थानमा नजाने, भोज भतेर तथा पार्टीहरूमा नेपाल सरकारको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने । 

३)     आफ्नो पालो अनुसार कोभिड–१९ का विरुद्ध भ्याक्सिन लिने र सुरक्षाका उपायहरू नियमित रुपमा प्रयोग गर्ने । 

४)     कोभिड–१९ बाट संक्रमित व्यक्तिको समर्पकमा आएको अवस्थामा सतर्कता अपनाई आइसोलेसनमा बस्ने । 

५)     ज्वरो, रुघाखोकी अथवा सास फेर्न कठिनाइ भएको अवस्थामा तुरुन्त कोभिडको परीक्षण गराई उपयुक्त उपचार गर्ने गराउने । 

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि

१) स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अपनाएर , सुरक्षाका सामग्रीहरू सही ढङ्गबाट प्रयोग गरी आफू सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न गराउनु पर्ने । 

२) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोभिड भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित  गराउनका लागि आ आफ्नो ठाउँबाट आवश्यक पहल गर्ने । 

नेपाल सरकारले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई क्षमतावान बनाउनु पर्ने अत्यन्त जरुरी अवस्थालाई समेत नजरअन्दाज गरेको अवस्थामा समेत हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको सुरक्षाका निम्ति सजगता अपनाउँदै नागरिकहरूको स्वास्थ्य सेवा प्रवाहमा खटिन यस सङ्घ सबैमा हार्दिक अपिल गर्दछ ।


कस्तो लाग्यो ?

यो पनि