बैशाख ०६, २०८१, बिहीबार
               

करोडौँ रकम ठगेर फरार व्यक्तिको घरजग्गा रोक्का गर्न माग

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।

बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गरेको छ । साथै पोर्चुगल प्रहरीमा कुँवरविरुद्ध उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालले बताए ।

सञ्चालक कुँवर भने अहिले फरार छन् । नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक संघसंस्थाले विरोध गरेका थिए । उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि