जेठ ०९, २०८१, बुधबार
               

पिताको स्मृतिमा अस्पतालको लागि जग्गादान

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

महोत्तरी । आफ्नो नगर बस्तीमा अस्पताल निर्माणको लागि बर्दिवास नगरपालिका–३ पाटुका डा‍. सुवास घिमिरेले एक करोड रुपैयाँभन्दा बढी मूल्यको जग्गादान गरेका छन् ।

आफैँ दन्त चिकित्सक रहेका डा. घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने पाँच कठ्ठा जग्गादान गरेका हुन् ।

डा. घिमिरेले निःशुल्क उपलब्ध गराएको जग्गामा शनिबार नै अस्पताल निर्माणको शिलान्यास गरिएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले अस्पताल निर्माणका लागि नगरपालिकाले तत्काल ४५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासहित अस्पताल भवन निर्माणको शिलान्यास गरे । अस्पताल भवन एक वर्षभित्र निर्माण सम्पन्न भएर त्यसलगत्तै सञ्चालनमा आउने नगरप्रमुख कार्कीको भनाइ छ ।

शिलान्यास समारोहमा डा. घिमिरेले सामाजिक क्षेत्रमा जीवनका अन्तिम क्षणसम्म योगदान दिएका आफ्ना स्व पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान गरेको बताए । बर्दिवास–सिन्धुली–बनेपा (बिपी) राजमार्गसँगै जोडिएको जग्गामा अस्पताल निर्माण थालिएको हो ।

सो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि महोत्तरी, सिन्धुली, सर्लाही, धनुषा र उदयपुरसम्मका सर्वसाधारण स्वास्थ्य उपचार सेवाबाट लाभान्वित हुने डा. घिमिरेको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि