जेठ ०८, २०८१, मंगलबार
               

कावासोतीमा एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।

वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले जानकारी दिइन् । नगरभित्र यसअघि ६ वटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उनले बताइन् ।

आधारभूत स्वास्थ्य सेवा सहजरूपमा नागरिकले पाउन सकुन् भनेर सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसका लागि भवन निर्माण गर्न लागिएको नगरप्रमुख पुनको भनाइ छ । हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उनले बताइन् ।

उपप्रमुख पे्रमशंककर मर्दनिया थारूले सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यसले हरेक नागरिकलाई सहजरूपमा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उनले बताए ।

हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले सहयोग पुग्ने उनले बताए ।

एउटा कार्यालय करिब ३८ लाख रुपैयाँको लागतमा निर्माण हुने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताए । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको उनले बताए । संघीय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो । नेपाल सरकारको भवन मापदण्डानुसार टाइप दुई प्रकारको भवन बन्नेछ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सरकारले उपलब्ध गराउने ३५ प्रकारका निःशुल्क औषधिसहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसूति सेवा, पोषणसहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।

यो पनि