जेठ ०९, २०८१, बुधबार
               

राजनीति जस्तै अस्पताल पनि अस्थिर, आधा वर्षमै तीन जना मेसु परिवर्तन

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

भरतपुर । देशको राजनीति अस्थिर छ । राजनीति जस्तै अन्य क्षेत्र पनि अस्थिर बनेका छन् । हुँदाहुँदा अस्पतालमा पनि आधा वर्षमै तीन जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन भएका छन् ।

त्यसमध्येको एक हो- भरतपुर अस्पताल । जहाँ भदौयता तीन मेसु परिवर्तन भइसकेका छन् । 

साधन स्रोत र जनशक्तिको हिसावले भरतपुर अस्पताल राजधानी बाहिरको ठूलो अस्पतालमा पर्दछ। तर मेसु परिवर्तन भइरहँदा अस्पतालको सेवा प्रभावित हुने गरेको छ ।

अस्पतालबाट २०७७ भदौ २८ गते डा. श्रीराम तिवारी सरुवा भएको थियो । त्यसपछि डा. राजन पाण्डे अस्पताल प्रमुख भएर आए । उनले मङ्सिर ८ गते राजीनामा दिए । त्यसको भोलिपल्टै डा. जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइयो । तर तीन महिना नपुग्दै डा. वासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ ।

रासससँग कुरा गर्दै अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाले नयाँ मेसुले आज बुधबारदेखि कार्यभार सम्हालेको जनाए । आगामी वैशाख ५ गते उमेर हदका कारण उनको अनिवार्य अवकाश हुनेछ । त्यसपश्चात् फेरि नयाँ मेसु आउने निश्चित छ । यसरी हेर्दा अस्पतालको नेतृत्वमा एक वर्षमै ६ पटकस्म परिवर्तन हुने निश्चितछ ।

डा. तिवारी एक वर्ष तीन महिना काम गरेर सरुवा भएका थिए । त्यसअघि पनि अस्पतालमा डा. विश्वबन्धु बगालेले ४५ दिन, डा. रवीन खड्काले चार महिना र डा. कृष्ण पौडेलले आठ महिनामात्र मेसुको जिम्मेवारी बहन गरेका थिए ।

पौडेलभन्दा अगाडि डा. रुद्र मरासिनीले भने २८ महिना लामो नेतृत्व सम्हालेका थिए । तत्कालीन समयमा अस्पताल विकास समितिको अध्यक्ष एवं हाल बागमती प्रदेशसभा सदस्य विजय सुवेदी स्थिर नेतृत्व नहुँदा संस्थाले प्रभावकारीरुपमा काम गर्न नसक्ने बताए ।

उनले भने, 'कम्तीमा दुई वर्ष काम गर्न नपाए योजना बनाएर कार्यान्वयन गर्न सकिन्न ।' यसले गर्दा अस्पतालले गर्नुपर्ने जति विकास गर्न नसक्ने उनको भनाइ छ । आफूले सम्बन्धित मन्त्रालयमा यसबारे सुझाव दिएको सुवेदीले जानकारी दिए ।

दिगोरुपमा काम गर्ने वातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च बनाउन नसकिने उनको बुझाइ छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी छोटो समयमा मेसु परिवर्तन हुँदा समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताए । उनले भने, 'हामी निर्णय गर्छौं तर कार्यान्वयन हुन सकेको छैन ।' नयाँ आउने प्रमुखको बुझ्न नपाउँदै सरुवा हुँदा अस्पतालका धेरै काम रोकिएको उनको भनाइ छ ।

अस्पतालभित्र भौतिक संरचना निर्माण र अन्य नियमित कामसमेत प्रमुख परिवर्तन हुँदा प्रभावित हुने गरेको छ । अधिकारीको भनाइमा चिकित्सक, कर्मचारीले गर्ने काम पनि प्रमुख परिवर्तन भइरहँदा प्रभावित हुने गर्दछ । यो अस्पताल दुई वर्षअघि सङ्घीय अस्पताल बनेको हो ।

६ सय शय्या रहेको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले प्रत्यक्षरुपमा सेवा लिने गरेका छन् । सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइतेदेखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पतालमा हुने गरेको छ । प्रसूतिलगायतका सेवामा देशकै उत्कृष्ट मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्वसमेत गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि