बैशाख २०, २०८१, बिहीबार
               

धवलागिरि आँखा अस्पतालमा नौ महिनापछि शल्यक्रिया पुनः सुरु

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

बाग्लुङ । धवलागिरि आँखा अस्पताल बाग्लुङमा कोभिड–१९ महामारीका कारण रोकिएको आँखाको शल्यक्रिया नौ महिनापछि पुनः सुरु भएको छ। अस्पतालमा हरेक महिनाको २७ गते हुँदै आएको मोतियाबिन्दुलगायतको शल्यक्रिया गत चैतदेखि रोकिएको थियो ।

गत शनिबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर शल्यक्रियाको काम सुरु गरिएको नेपाल नेत्र ज्योति संघ बाग्लुङ धवलागिरि आँखा अस्पतालका अध्यक्ष भरत पुरीले बताए । नौ महिनापछि पहिलोपटक भएको शल्यक्रियामा ३२ जना बिरामीले सेवा लिएका छन् ।

हिमालय आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा अस्पतालले बिरामीको शल्यक्रिया गरेको हो । पहिलो शल्यक्रिया शिविरको रुपमा अस्पतालमा नवनिर्मित अपरेसन थिएटर भवनमा पुनः सञ्चालन भएको पुरीले बताए । शिविरमा हिमालय आँखा अस्पताल पोखराका चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान मर्हजनको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले शल्यक्रिया तथा उपचार गरेको थियो ।

हिमालयन आँखा अस्पताल र नेत्र ज्योति संघ बाग्लुङको बैठकले नियमित शल्यक्रिया गर्ने निर्णय समेत गरेको छ। ‘अब बिरामीको अवस्था हेरेर नियमित शल्यक्रिया हुने व्यवस्था गर्ने निर्णय समेत गरेका छौं,’ पुरीले भने, ‘महिनामा एक पटक शिविरका रुपमा हुँदै आएको शल्यक्रिया अब तीन÷चार दिनको फरकमा हुनेछ ।’ 

अस्पतालको नवनिर्मित भवनको उद्घाटनसँगै नियमित शल्यक्रियाको थालनी हुने पुरीले बताए । बाग्लुङ बजारबाहिर रहेका आँखा उपचार केन्द्रको स्तरोन्नतिको लागि समेत संघले पहल थालेको छ ।


कस्तो लाग्यो ?

यो पनि