बैशाख २३, २०८१, आइतबार
               

मास्क जथाभावी फाल्दा थप जोखिम

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 

यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक,सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो ।  

मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताए ।

'मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ', उनले भने । मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ । 

मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उनको छ । 

मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको बताइएको छ । आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्थ्य कार्यालयले जनाएको छ । 

बैतडीमा हालसम्म ३८८ जनाका कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि