जेठ ०६, २०८१, आइतबार
               

दुवै मिर्गौला खराब भएका दुई महिलाको उपचारमा आर्थिक अभाव

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

झापा । मेचीनगर नगरपालिकाका आर्थिकरूपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको छ । मेचीनगर–१० की १७ वर्षीया अरिस्ता परियार र मेचीनगर–९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो ।

उनिहरुको हप्तामा दुईपटक डायलासिस गरिँदै आएको छ । धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी अरिस्ताको उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा सहयोग समिति गठन गरिएको आमा लक्ष्मी परियारले बताइन् ।

दुवै मिर्गौला खराब भएकी निर्मला ढुङ्गानालाई चिकित्सकहरुले तत्काल मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको र छोरीका लागि एउटा मिर्गौला दिन आफू तयार रहेको आमा लक्ष्मीमाया ढुङ्गानाले बताइन् ।

विवाह गरेको तीन महिनापछि निर्मलालाई मिर्गौलामा खराबी देखापरेको थियो । उनको उपचारमा २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको उपचारमा सहयोग जुटाउन गिरिराज धमलाको संयोजकत्वमा बचाउ समिति गठन गरिएको छ । मिर्गौला खराब भएपछि डायलासिस र औषधि निकै महङ्गो पर्ने र नयाँ मिर्गौला प्रत्यारोपण खर्च अरिस्ता र निर्मला जस्ता विपन्न परिवारले धान्न नसक्ने मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनालले बताए ।

मिर्गौला खराबी भएर थलिएका अरिस्ता र निर्मलालाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको हुँदा आर्थिक सहयोग जुटाउन अपिल गरिएको कनालले बताए ।


कस्तो लाग्यो ?

यो पनि