जेठ ०६, २०८१, आइतबार
               

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काभ्रेपलाञ्चोक । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान सुरु गरेको हो ।

नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बीमा कम्पनीसँग सम्झौता गरेलगत्तै अभियानको सुरुवात गरेकी छन् । ‘बीमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ’, उनले भनिन् । उनले कार्यक्रमको सुरुवातसँगै दुवै समूहका ५१ महिलालाई कोभिड–१९ बीमालेख हस्तान्तरण गरेकी हुन् ।

सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा अट्नेछन् । उनले नगरभित्रका दुवै समूहका ४०० महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिने जानकारी दिइन् । ‘उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत यस वर्ष यही बीमा हो’, उनले भनिन् । उनका अनुसार नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बीमा गरिनेछ । प्रिमियम रकममा ५० प्रतिशत छुटमा रु एक लाखको बीमा हुनेछ ।

कोरोना संक्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्करीको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए । उनले भने, ‘बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार हाल नगरमा सक्रिय संक्रमित महिला ४० र ६६ पुरुष रहेका छन् । यसअघि नगरले जनप्रतिनिधि र कर्मचारीको बीमा गरिसकेको जनाएको छ ।

पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर लामाले साताअघि एकल महिलाको आफैले निःशुल्क कोभिड–१९ बीमाको प्रक्रिया थालेका छन् । लामाले आफ्नो क्षेत्रमा पहिचान भएका १२८ एकल महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिरहेको बताए । ‘प्रिमियम रकममा ५० प्रतिशत छुटमा उनीहरुको बीमा गर्न लागेको हुँ’, उनले भने । 


कस्तो लाग्यो ?

यो पनि