इलाम । जिल्लाको इलाम नगरपालिकाका तीन वर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । सात महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व ‘किमोथेरामी’मा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन झनै समस्या परेको हो ।
शल्यक्रिया गर्न किमोथेरापी ६ पटक गर्नुपर्ने अस्पतालले जनाएको छ । ‘छ साइकल त किमो नै गर्नुपर्छ, खर्च जुटाउन गाह्रो छ’, बालकका बाबु गोपाल श्रेष्ठले भने । उनका अनुसार एकपटकको किमोथेरापीमै करिब ४० हजार रुपैयाँ खर्च लाग्छ । त्यसपछि शल्यक्रिया गर्नसमेत १२ लाख रुपैयाँ हाराहारीमा लाग्ने अस्पतालले जनाएको छ ।
‘बिरामीको अवस्था किमो गराउँदा ‘नर्मल’ भयो भने मात्र ४० हजार रुपैयाँले पुग्ने हो’, गोपालले भने, ‘अरू बिराम देखिँदा त एक किमोमै डेढ लाखसम्म खर्च लाग्छ ।’ अहिलेसम्म उपचारमा रु १० लाख खर्च लागिसकेकाले शल्यक्रियाको लागि रकम जुटाउन अत्यन्त गाह्रो भएको गोपालको भनाइ छ ।
आर्थिक स्थिति कमजोर भएका उनको हालसम्म सहयोगबाटै रकम जुटाएको भए पनि शल्यक्रियाको लागि पर्याप्त छैन । अहिलेसम्म तीन लाख रुपैयाँभन्दा बढी रकम उठिसकेको छ । तर, त्यसले शल्यक्रियासम्म नपुग्ने भएकाले उपचार कसरी गर्ने दोधारमा परेको गोपालको भनाइ छ । अहिले गोपाल र श्रीमती नै बच्चाको उपचारको लागि काठमाडौंमै छन् ।
परिवारका सबैको सहयोग मिल्दा पनि रकम नजुट्दा छरछिमेकी र आफन्तको सहयोग मागेको उनको भनाइ छ । बच्चा बचाउनकाे लागि सबै पक्षबाट सहयोग गरिदिनका लागि परिवारले सबैलाई आग्रहसमेत गरेको छ । बालकलाई सहयोगका लागि एनआइसी एशिया बैंकको खाता नं २७८५७५०८८६०९७००१ मा रकम पठाइदिन आग्रह गरिएको छ ।