बैशाख २२, २०८१, शनिबार
               

भरतपुर क्यान्सर अस्पतालको सबै सेवा पुनः सञ्चालन

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

चितवन । चितवनस्थित भरतपुर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः सुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिएपछि गत साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरुले आजबाट काम गर्ने बताए । परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई संक्रमण देखिएको उनले बताए । अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ ।

अस्पतालका बहिरङ्ग सेवाहरु नियमित गरिएको छ । यद्यपि अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सावबजनिक गरेकाले आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ ।

उक्त अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन् । प्रदेश नम्बर २ को बढी संक्रमित क्षेत्रबाट ठूलो सङ्ख्यामा बिरामीहरु आउने गरेका छन् । यसबाट अस्पताल कोरोना संक्रमणको उच्च जोखिममा रहेको गौतमले बताए ।

यसैबीच उक्त अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी कोरोना परीक्षण थालिने भएको छ । कार्यकारी निर्देशक गौतमले भने, ‘हामी दुई तीन दिनमै प्रयोगशाला संञ्चालनमा ल्याउने तयारीमा छौँ ।’ प्रयोगशालालाई आवश्यक पर्ने रिएजेन्टहरु आइनपुगेकाले प्रयोगशाला सञ्चालन गर्न ढिलाइ भएको हो ।

अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रयोगशाला सञ्चालन गर्ने विषयमा जानकारी गराइसकेको छ । आवश्यक जनशक्ति अस्पतालमै छन । हाल जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले पिसिआर प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।

यो पनि