मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाको महामारीबीच दादुराको प्रकोप

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

विश्वमा कोरोना भाइरस महामारी दिन प्रतिदिन बढिरहँदा नेपालमा पनि यसको प्रभाव पर्न थालेको छ । तर, यसको प्रकोपसँगै दादुराका बिरामीहरु पनि बढ्न थालेका छन् ।

चैत महिनादेखि हालसम्म विभिन्न जिल्लामा गरी १ सय ८५ जना दादुराका बिरामी भेटिएका छन् भने दुईजनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर झलक गौतमले बताए ।

काठमाडौं, ललितपुर, झापा, सर्लाही, धादिङ,, चिवतवन र गोरखामा दादुराका १ सय ८५ जना बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा डाक्टर गौतमले बताए ।

सात जिल्लामा भेटिएका बिरामीलाई प्रयोगशालामा परीक्षण गरेर दादुराको भएको पुष्टि गरेको समेत उनले बताए । भेटिएका दादुराको बिरामी चार महिनादेखि ४० वर्ष उमेरका छन् । हाल दादुरा देखिएका बिरामीले विगतमा दादुराको खोप नलगाएको पाइएको उनले बताए ।

दादुरा प्रकोप क्षेत्रमा खोप कार्यक्रम

७७ जिल्लामध्ये वर्तमान समयमा धादिङ जिल्ला दादुराको प्रकोप बढी देखिएको डाक्टर गौतमले बताए । धादिङमा ठूलो संख्यमा दादुराको प्रकोप देखिएकाले दादुरा रुवेला खोप सञ्चालन गरिएको छ । धादिङ जिल्लामा दादुरा र रुवेलाको खोप वैशाख १७ गतेदेखि सुरु भएको उनको भनाइ छ । यो खोपअभियान वैशाख २३ गतेसम्म सञ्चालन हुने उनले बताए ।

दादुरा प्रकोप क्षेत्रमा ६ महिनादेखि १५ वर्षकालाई दादुरा रुवेलाको खोप दिइने उनीले बताए । करिब बीस हजार जनालाई दादुरा रुवेलाको खोप दिने काम भइरहको उनले बताए । दादुराको कारण बिरामीको अवस्था गम्भीर भएमा उपचार गर्न सम्भव हुने अस्पतालमा रिफर गर्ने गरेको समेत उनले सुनाए ।

खोप दिदाँ यी कुरामा ध्यान दिनुपर्छ

कोरोनाभाइरस संक्रमणको महामारीका बेला नियमितखोप सञ्चालन गर्दा स्वास्थ्य सेवा विभागबाट जारी गरिएको कोभिड–१९ को  निर्देशिकालाई अनुसरण गर्नुपर्ने डाक्टर गौतमले बताए ।

– नियमित खोप दिने स्थानहरु स्वास्थ्य संस्था तथा खोप केन्द्रमा भिडभाड गर्नुहुँदैन ।

– बालबालिकालाई खोप दिँदा निश्चित दुरी कायम गर्नुपर्छ ।

– खोप केन्द्रमा आउने अभिवाक तथा बालबालिकालाई स्क्रिनिङ तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्छ ।

– खोप दिँदा स्वास्थ्यकर्मीले सर्जिकलमास्क, पञ्जाको प्रयोग गर्नुपर्छ ।

– साबुन पानीले हातधुने वा सेनिटाइजरको प्रयोग गर्ने ।

 


कस्तो लाग्यो ?

यो पनि