जेठ ०४, २०८१, शुक्रबार
               

तिलगंगा आँखा अस्पतालमा बिरामी घटे

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण तिलगङ्गा आँखा अस्पतालमा बिरामीको चाप घटेको छ । 

सधैँजसो भीडभाड हुने तिलगंगा आँखा अस्पतालमा हाल बहिरङ्ग विभाग र आकस्मिक कक्षमा गरी दैनिक ५० देखि १०० जनासम्म बिरामी आउने गरेका छन् । 

अस्पतालले लकडाउनको समय भएकाले शल्यक्रिया गरेर ‘फलोअप’ का बिरामी वा अकस्मात् कुनै समस्या आइपरेका बिरामी मात्र अस्पताल आउने गरेको बताएको छ । 

सामान्य अवस्थामा दैनिक एक हजार बिरामी आउने गरेकामा अहिले झन्डै एक सय जनासम्म आइरहेको अस्पतालले जनाएको छ । 

अस्पतालले सबै सेवा नियमित गरे पनि अत्यावश्यक बिरामीलाई मात्रै अस्पताल आउन भनेकाले  बिरामीको संख्या घटेको अस्पतालका निर्देशक डा. रोहित सैँजुले बताए । 

लकडाउन पहिले दैनिक धेरै शल्यक्रिया हुने गरेकामा अहिले सातामा औसत सात÷आठ वटासम्म शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । 

अस्पतालले आँखाका नियमित बिरामीलाई यहाँ कार्यरत चिकित्सकको टेलिफोन नम्बर पनि उपलब्ध गराएको छ । 

बिरामीले आवश्यक पर्दा ती नम्बरमा चिकित्सकसँग सम्पर्क गरी आफ्नो समस्या राख्ने गरेका अस्पतालले जनाएको छ । 

चिकित्सकले अतिआवश्यक हुँदा अस्पतालमा बोलाउने, तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग सल्लाह दिने गरेको उनले जानकारी दिए । 

‘हामी बिरामीलाई फोनबाटै अस्पताल आउने कि त्यहीँ औषधि किनेर प्रयोग गर्ने भन्ने सल्लाह दिन्छौँ,’ उनले भने, पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्या बारेमा बुझ्ने गरेको छ ।’ 

बिरामीको ‘हिस्ट्री’ हेर्दा उसको समस्या जटिल भएमा मात्रै अस्पताल बोलाउने गरिएको निर्देशक डा सैँजुले बताए ।

अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन पनि कठिन  नभएको सैँजुले जानकारी दिए । 

उनले पहिले दैनिक एक हजारभन्दा बढी बिरामी जाँच गरिरहेको ठाउँ भएको जानकारी दिँदै दैनिक एक सय जनालाई सामाजिक दूरी कायम गर्न गाह्रो नभएको बताए । 

तिलगंगा आँखा अस्पतालले आँखा चेक गर्न आएका बिरामीको ज्वरो नाप्ने गरेको र शंका लागे सिभिल वा केएमसी हस्पिटल रेफर गर्ने गरेको जानकारी दियो । 

यो पनि