काठमाडौं । नोभल कोरोना (कोभिड १९)बाट हुन सक्ने संभावित संक्रमणको स्थितिलाई ध्यानमा राख्दै सरकारले २ सय ३५ वटा आइसियु बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले संघ र प्रदेशमा गरी २ सय ३५ आइसियु बेड र १ हजारको संख्यामा आइसोलेसन बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिडारीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, विर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको छाउनी र भद्रकाली तथा कीर्तिपुरको आयुरवेद अस्पतालमा २०—२० वटाका दरले गरी १ सय २० वटा आइसियु बेड निर्माण गरिने बताए ।
त्यस्तै बागमती प्रदेश बाहेकका ६ वटा प्रदेशका १ सय १५ वटा आइसियु बेड तयारी अवस्थामा राख्ने तयारी सरकारले गरेको उहाँले बताए । त्यस्तै आइसोलेसन वार्ड पनि किर्तिपुरमा २ सय जनालाई, खरिपाटीमा २ सय २० जनालाई, नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको अस्पतालहरूमा १ सय वटा र इचङ्गुनारायणमा सरकारले बनाएको भवनहरूमा २ सय ५० वटा गरी कुल १ हजार वटा बेडहरू तयार गर्ने निर्णय गरिएको बताए ।
उनले पिपिइ र डाइगोनेस्टिक किटहरू पनि तत्काल खरिद गरी सबै प्रदेशहरूमा पठाउने तयारी भइरहेको समेत बताए । स्वास्थ्य मन्त्रालयले पिपिइ सेट २० हजार, डाइगोनेस्टिक किट १० हजार र थर्मल गन ३ हजार थान खरिद गरी प्रदेश सरकारहरूमा समेत पठाउने तयारी गरेको छ । त्यस्तै भारतसँग जोडिएका १ सय २८ स्थानीय तहहरू र त्यहाँ आवागमन हुने ठाउँहरूमा ज्वरो नाप्ने थर्मल गन पठाउने तयारी भइरहेको उनले बताए ।
त्यस्तै कोरोना भाइरस संक्रमणको स्थितिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूका लागि टिओआर बनाएर तलब स्केल इन्सेन्टिभका रुपमा दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लगिने र मन्त्रिपरिषदबाट निर्णय भएपछि उच्चस्तरिय समितिको सिफारिसमा कार्यान्वयनमा ल्याउने जानकारी दिए । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा डिपार्चर हुने ठाउँमा स्क्रिनिङ गर्ने काम समेत सुरु भइसकेको जानकारी दिए ।