बैशाख ३१, २०८१, सोमबार
               

पर्सामा भाइरल इन्फ्लुएन्जा संक्रमित हुने बढे

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

मौसम परिवर्तनसँगै पर्सामा भाइरल इन्फ्लुएन्जाबाट सङ्क्रमित रोगीको सङ्ख्यामा वृद्धि भएको छ । बदलिँदो मौसमका कारण तापक्रममा हुने अस्वाभाविक परिवर्तनले जिल्लामा रुघाखोकी र ज्वरोका रोगीको सङ्ख्या बढेको हो । 

दिनभरि चर्को घाम लाग्ने र बिहान बेलुका हुने चिसोका कारण भाइरल इन्फ्लुएन्जाका रोगीको सङ्ख्या बढेको चिकित्सकको भनाइ छ ।  एक सातायता नारायणी अस्पतालमा आउने इन्फ्लुएन्जाबाट सङ्क्रमित रोगीको सङ्ख्या अत्यधिक वृद्धि भएको अस्पतालले जनाएको छ ।

अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आउने रोगीमध्ये दुई तिहाईभन्दा बढी इन्फ्लुएन्जाबाट सङ्क्रमित बिरामी रहेको चिकित्सकले बताएका छन् । इन्फ्लुएन्जाबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा  प्रभावित भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा शैलेश ठाकुरले बताए। उनले रुघाखोकी र कडा ज्वरोबाट ग्रसित भएका दैनिक २०० भन्दा बढी बालबालिका उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए । 

रोग प्रतिरोधात्मक क्षमता कम भएकै कारण बालबालिका तथा वृद्धवृद्धा  मौसमी रोगबाट बढी सङ्क्रमित हुने गरेको  इर्मेजेन्सी रोग विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिए। उनले हरियो सागसब्जी तथा फलफूलको प्रयोग बढाउनुका साथै नियमित व्यायाम गरे मौसमी सङ्क्रमणबाट जोगिन सकिने बताए।


कस्तो लाग्यो ?

यो पनि