जेठ ०८, २०८१, मंगलबार
               

यसरी ल्याउनुस् जीवनमा सौन्दर्य

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

सुन्दरता अमूल्य छ । कसैलाई सापटी दिन र लिन पनि सकिँदैन । हरेक व्यक्ति आफैँमा राम्रा हुन्छन्, सुकोमल हुन्छन् । सौन्दर्यले के फाइदा गर्छ ? सौन्दर्य के हो ? यो प्रश्नको उत्तर कुनै पुस्तकमा भेटिँदैन किनकि यो प्रश्न नै होइन । अथवा यो प्रश्नका सबै उत्तर गलत हुन्छ । सौन्दर्यको महत्त्व सोध्नु जीवनको महत्त्व सोध्नुजस्तै हो । जसरी जीवन आफैँमा साध्य हो र निशंकोच सबै प्राणीका लागि यो चक्र महत्त्वपूर्ण छ । त्यसरी नै जीवन हराभरा बनाउन सौन्दर्य अनिवार्य छ । जसले सौन्दर्यको महत्त्व बुझ्छ, उसको जीवन खुलेको आकाशजस्तै हुन्छ । सौन्दर्य भावना हो, अनुभूति हो । 

बच्चादेखि वृद्धसम्मलाई सौन्दर्य चाहिन्छ । मानिसमात्रै होइन सबै प्राणी र निर्जीव वस्तु समेतको सौन्दर्य हुन्छ । जस्तो, हामी सुन्दर घर, गाडी र सुन्दर मोबाइल बोक्न चाहन्छौँ । सफा कपडा लगाउन चाहन्छौँ । हामी अब आफ्नो अनुहारको सौन्दर्यबारे चर्चा गर्दैछौं किनकि सौन्दर्य भन्नासाथ हाम्रो मस्तिष्कले सबैभन्दा पहिले अनुहार सम्झन्छ । 

हरेकको अनुहार पृथक् हुन्छ र त्यसको महत्त्व पनि । आफ्नो अनुहारको महत्त्व बुझ्नु आफैँलाई बुझ्नु हो । यसरी आफ्नो अनुहारप्रति मानिसलाई लगाव हुँदैन थियो भने समाजमा ऐनाको आविष्कार नै हुने थिएन । 

हामीले देखेका छौँ– कसै–कसैको अनुहार छुँदा पनि दाग लाग्लाजस्तो हुन्छ, मुलायम देखिन्छ । मैले भन्न खोजेको सौन्दर्य र व्यक्तित्व झल्काउन अनुहारको महत्त्व ठुलो छ । अनुहार हेरेरै कतिका  कविता फुर्छ, सायरी जन्मिन्छ, मीठो सङ्गीत सिर्जना हुनसक्छ । 

राम्रो छु भनेर पुग्दैन, आफ्नो सुन्दरता मेन्टेन गरिराख्न अनुहारको उचित स्याहार जरुरी छ । तपाईँले आफ्नो सौन्दर्यलाई नै ध्यान दिनसक्नु भएन भने जीवनको सौन्दर्य अनुभव गर्न पाउनुहुन्न । सौन्दर्यले मानिसको आत्मविश्वास बढाउँछ, जीवन सार्थक बनाउन यो जरुरी छ । उमेर बढ्दै जाँदा हाम्रो सौन्दर्यतामा ह्रास आउँछ र हामी खिन्न हुन थाल्छौँ । आफ्नो अनुहारमा आएको डन्डिफोर, कालो दाग, पोतो वा  खुइलिएको तालु देखेर मानिस विचलित भइरहेका हुन्छन् । किनकि, सकेसम्म आफूलाई सुन्दर राख्ने चाहना हामीमा लुकेको हुन्छ ।

आफूमा लुकेको चाहनालाई दबाउनुपर्छ भन्ने छैन । विज्ञानले धेरै नयाँ–नयाँ आविष्कार गरेको छ । तपाईँलाई मन नपरेका अनुहारका त्यस्ता दाग प्रविधिको सहायताले सजिलै हटाउन सकिन्छ । तपाईँले चाहेमा खुइलिएको आफ्नो तालुमा फेरि कपाल उमार्न सक्नुहुन्छ । 

समस्या

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण तनाव एवं थकान बढी हुन्छ । यसले पनि छालालाई असर गरिरहेको हुन्छ । तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ । डन्डीफोर र छाला चाउरी पर्नेजस्ता समस्या सामान्य भए पनि त्यो भन्दा जटिल समस्याहरू पनि देखिन्छ । हुन त बजारमा विभिन्न प्रकारका सौन्दर्य सामग्री पाइन्छ । झुटा विज्ञापन पनि भेटिन्छन् । तर चिकित्सकसँग परामर्श नगरी जथाभाबी त्यस्ता सामाग्री प्रयोग गर्नाले स्वास्थ्यमा उल्टै गम्भीर समस्या निम्ताउने जोखिम पनि छ । 

पछिल्लो समय नेपालमा छाला रोगका बिरामीको सङ्ख्या बढ्दो छ । ९/१० वर्ष केटाहरूमा पनि तालु खुइलिने समस्या देखा परेको छ । ४०–४५ वर्षका व्यक्तिमा पनि डन्डिफोर आइरहेको छ । सामान्यतया ४० वर्षपछि मात्रै तालु खुइलिन्छ वा युवावस्थामा मात्रै  ‘डन्डिफोर’ आउँछ भन्ने हाम्रो आम बुझाई गलत हुँदै छ । यस्ता जटिल समस्या देखा परेमा हेलचेक्र्याई गरेर बस्नुहुन्न । आफूखुसी बजारमा पाइने क्रिमहरू प्रयोग गर्नु पनि राम्रो होइन, स्किन डक्टरलाई देखाउनुपर्छ । 

उपचार विधिहरू थुप्रै छन् । उपचार गरेर समस्याबाट मुक्त हुन सकिन्छ ।

समाधान 

– मुख्य कुरा, मानिसिक रूपमा सन्तुष्ट हुनुपर्छ । आफू जे छु त्यसैमा सन्तोष गर्नसक्यो, आफैँलाई राम्रो ठान्यो भने  अनुहारमा स्वतः चमक आउँछ । अर्को,  नियमित शारीरिक व्यायाम पनि आवश्यक छ । नियमित व्यायामले तपाईँको शरीरबाट पसिनासँगै धेरै विकारहरू बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ ।  

– हामीले खाने खाना कत्ति स्वस्थकर छ । यस विषयमा ख्याल गर्नुपर्छ । अहिले त गाउँघरमै अर्गानिक खाना पाइन छाड्यो । विषादी प्रयोग गरिएका खाद्यान्नले धेरै समस्याहरू निम्त्याएका छन् । त्यसैले खानपानमा पर्याप्त ध्यान दिनुपर्छ, समयमा खानुपर्छ । पानी पर्याप्त पिउनुपर्छ ।

– हरेक दिन हाम्रो जीवन दौडधुपमै बितिरहेको छ । सूर्यको प्रकाशमा फैलिएका विभिन्न विकिरणहरूले हाम्रो छालामा प्रत्यक्ष असर गर्छन् । त्यसैले यसबाट जोगिन हामीले बाहिर निस्कनुअघि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ । तर हामीले ध्यान दिन जरुरी छ, जथाभाबी कस्मेटिक सामाग्रीको गलत प्रयोग पनि हो । मैले अघि नै भनेँ, चिकित्सकसँग परामर्श गरेरमात्रै कस्मेटिक सामाग्री प्रयोग गर्नुपर्छ ।

- राति अबेर बस्ने । बिहान ढिलो सम्म सुत्ने बानीले छालामात्रै होइन अन्य रोगहरू निम्त्याउन समेत भूमिका खेलिरहेको हुन्छ । त्यसैले पर्याप्त समय निदाउनुपर्छ । कम्तीमा ७ देखि १० घण्टा । 

- कतिपयको शरीरमा जन्मजात नै दाग देखिएका हुन्छन् । कतिपयको छालामा दुर्घटनामा वा अन्य विभिन्न कारणले दाग बसेको हुन्छ । व्यवस्थित जीवनशैली वा पर्याप्त स्याहारले मात्रै यस्ता दाग हट्दैनन्, तर समाधान सम्भव छ । छाला विशेषज्ञसँग परामर्श गरेर यस्ता दाग, धब्बा हटाउने वा खुइलिनेको तालुमा कपाल उमार्न सकिन्छ । छालाको उपचार अन्य सामान्य उपचारको तुलनामा महँगो भने अवश्य छ । तर हामीले कति कुरामा अनावश्यक खर्च गरिरहेका हुन्छौँ, आफ्नो सुन्दरता सुधारका लागि खर्च किन नगर्ने ? आफ्नो अनुहारमा चमक आउँदा आत्मविश्वास बढ्छ ।

(नेपाल स्किन हस्पिटलका चर्मरोग विशेषज्ञ डा. ललन खतिवडासँगको कुराकानीमा आधारित ।)

 


कस्तो लाग्यो ?

यो पनि