विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्व अहिले संकटको अवस्थामा छ । युरोपको अर्थतन्त्र सताब्दीकै सबैभन्दा खराब अवस्थामा रहेको समाचार आइरहदा महाशक्ति राष्ट्र अमेरिकाको अर्थतन्त्रलाई पनि निकै ठुलो धक्का लागेको छ । छिमेकी मुलुक भारतले पनि भयानक आर्थिक क्षति ब्यहोर्न परिरहेको छ ।
संसारभरमा ६ करोडनजिक मानिस कोरोना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १४ लाख पुग्न लागेको छ ।
एक वर्षबीचमा कोरोनाको पीडासँगै यो महामारीबाट मानव जातिलाई बचाउने प्रयासहरू पनि जारी छन् । त्यसका लागि विश्वका शक्तिशाली राष्ट्र तथा संयुक्त राष्ट्रसंघीय निकायहरू खोप विकासका लागि लागि परेका छन् ।
कोरोना भाइरस निमुल वा नियन्त्रणका लागि कुन खोप प्रभावकारी हुनसक्छ भनेर दशौँ हजार मानिसमा परीक्षण पनि भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएका छन् । त्यसमध्ये ३६ वटाले अनुमति पाएका छन् । खोपकै अनुसन्धान र विकासका लागि अर्बौँ डलर लगानी भइसकेको छ भने त्यसको खरिद र वितरणका लागि दशौँ लाख डलरको प्रतिबद्धता गरिएको छ ।
कुन खोप र कहाँ बन्दै छ ?
फाइजर र मोडेर्ना
फाइजर खोप अमेरिकी कम्पनी र जर्मनको बायो एन टेकले संयुक्त रूपमा निर्माण गरेका हुन् । ‘बायोटेक्नोलोजी’ फर्म मोडेर्नाले ‘नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्टिसियस डिजिज’सँगको सहकार्यमा कोभिडविरुद्धको खोप विकसित गरेको छ । केही सातामै खोपलाई प्रयोगमा ल्याउने स्वीकृति पाउन अहिले दुवै कम्पनीहरू परीक्षण एवं अनुसन्धानको गति बढाइरहेका छन् ।
खोप स्वीकृत भएलगत्तै कसलाई पहिले दिने भन्ने प्राथमिकतासम्बन्धी निर्णय लिइने छ । यसबारे धेरै महिनादेखि छलफल हुँदै आएको छ । त्यसैले सबैभन्दा पहिले स्वास्थ्यकर्मी त्यसपछि अत्यावश्यक पेसामा संलग्न व्यक्तिहरू (जस्तै शिक्षक, सुरक्षाकर्मी, खाद्य सामग्रीको काम गर्ने तथा बढी उमेर समूहका एवं दीर्घरोगी)ले पहिले खोप पाउनेछन् ।
कुनै स्वास्थ्य समस्या नभएका र स्वस्थ युवाले चाहिँ आगामी अप्रिलदेखि मात्र खोप पाउने बताइएको छ । तर त्यो समयमा पनि सबैले तत्कालै खोप लगाउन पाउने छैनन् । अहिले भइरहेका प्रायः खोप ट्रायलहरूमा बालबालिकालाई संलग्न नगराइएको हुँदा उनीहरूलाई नदिइने पनि भनिएको छ ।
फाइजरमात्र पहिलो त्यस्तो कम्पनी हो जसले १२ वर्ष उमेरदेखिका मानिसलाई ट्रायलमा समावेश गरेको छ । जसकारण १२ वर्ष पुगेकाहरूले पनि यो खोपको पाउन सक्छन् ।
यसरी अप्रिल, मे, जुन, जुलाईतिर मात्र कुनै स्वास्थ्य समस्या नभएका साधारण नागरिकहरूमा खोप उपलब्ध हुने अनुमान गरिएको छ ।
जोन्सन एन्ड जोन्सन
अमेरिकाकै जोन्सन एन्ड जोन्सन कम्पनीले पनि कोभिड १९ विरुद्ध खोप ल्याउने प्रयास गरिरहेको छ । उसका वैज्ञानिकहरूले एउटा डोजमात्र आवश्यक पर्ने कोरोनाविरुद्धको खोपको अनुसन्धान गरिरहेका छन् । यो खोप विश्वव्यापी प्रयोगका लागि स्वीकृत हुन आगामी फेब्रुअरीसम्म लाग्ने अनुमान गरिएको छ । कम्पनीले विश्वभरमा ६० हजार स्वयंसेवक नियुक्त गरी वृहद् ट्रायल डिसेम्बरको अन्त्यसम्ममा पूरा गर्ने जनाएको छ । जोन्सन एन्ड जोन्सन कम्पनी फाइजर र मोडेर्नाभन्दा केही पछि परेको छ । त्यस्तै जोन्सन एन्ड जोन्सन कम्पनीले अर्को दुई डोज खोपका लागि पनि परीक्षण सुरु गरेको छ । त्यो ३० हजार जनामा ट्रायल हुनेछ । यसरी जोन्सन एन्ड जोन्सनले दुई खोप निर्माण गर्ने तयारी गरिरहेको छ । त्यसमध्ये एक डोजवाला खोप आगामी फेब्रुअरीभित्रै उपलब्ध हुनसक्ने गरी तयारी भइरहेको छ ।
रुसको ‘स्पट्निकभी’
रुसमा निर्मित कोरोनाविरुद्धको खोप स्पट्निकभीको ट्रायल ९२ प्रतिशत प्रभावकारी देखिएको छ । ट्रायलका क्रममा १६ हजार स्वयंसेवकहरूलाई यो खोप लगाइएको थियो । हाल बेलारुस, युएई, भारत अनि भेनेजुएलामा यसको तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ ।
रुसी अनुसन्धानकर्ताका अनुसार स्वयंसेवकहरूमा दुईमध्ये खोपको पहिलो डोज लगाएको २१ दिनसम्म कुनै गम्भीर प्रतिक्रिया या साइडइफेक्ट देखिएको छैन । पुटिनले मंगलबार मात्र स्पट्निकभी खोप भारत र चीनमा उत्पादन हुन सक्ने बताएका हुन् । यी दुवै देशले आफ्नो आवश्यकतामात्र नभएर तेस्रो मुलुकलाई पनि आपूर्ति गर्न सक्ने बताइएको छ । स्पट्निकभीबाहेक रुसको ‘एपी कोरोना भ्याक’ पनि गत अक्टोबरमै आपतकालीन प्रयोगका लागि स्वीकृत गरिएको थियो । स्पट्निकभी खोपलाई आफ्नै छोरीमाथि पनि प्रयोग गरिसकेको पुटिनले यसअघि बताएका थिए ।
चीनको कोरोनाभ्याक
चीनको साइनोभ्याक बायोटेक कम्पनीले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको 'कोरोनाभ्याक' खोपले पनि एकदम छिटो इम्युन प्रतिक्रिया उत्पन्न गराउने सक्ने दाबी गरिएको छ । चीनमा साइनोभ्याक कम्पनीको कोरोनाभ्याकसहित चार अन्य अनुसन्धानात्मक खोपहरू अन्तिम चरणको ट्रायलमा पुगेका छन् । अब छिटै प्रभावकारिता जाँच गर्ने बताइएको छ । साइनोभ्याकको रिसर्चका लागि ७०० भन्दा बढी सहभागीलाई संलग्न गराई पहिलो र दोस्रो चरणको ट्रायल सञ्चालन गरिएको थियो ।
साइनोभ्याकले हाल ब्राजिल, इन्डोनेसिया र टर्कीमा अन्तिम चरणको ट्रायल सञ्चालन गरिरहेको छ । त्यस्तै अन्य चार चिनियाँ खोपका ठुला ट्रायलहरू पाकिस्तान र साउदी अरेबियामा भइरहेको छ । कोरोनाभ्याक खोप अहिले नै चीनमा आपतकालीन प्रयोगका लागि सयौँ मानिसमा प्रयोग भइरहेको छ । यसबाहेक अन्य दुई खोप पनि चीनमा सुरक्षित र प्रभावकारी बन्दै गएको दाबी गरिएको छ । चिनियाँ अधिकारीहरूका अनुसार नोभेम्बरको सुरुवातमै ६० हजारभन्दा बढीले चिनियाँ खोप लगाइसकेका छन् । जहाँ यतिबेला कोरोना नियन्त्रित अवस्थामा छ । चीनले यसअघि नै २०२१ का सुरुवाती महिनाहरूमै खोप पूर्ण रूपमा तयार हुने बताएको थियो ।
बेलायतको एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटी खोप
बमोडेर्ना र फाइजरको सफलताले एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा निर्माण भइरहेको खोप पनि प्रारम्भिक नतिजा सार्वजनिक गर्न दबाबमा आएको छ । डिसेम्बरभित्र कम्पनीले पनि आफ्ना ट्रायलहरूबाट प्राप्त डाटा सार्वजनिक गर्ने बताएको छ । एस्ट्राजेनेकाको खोपले युवादेखि वृद्धसम्म सबैमा उत्तिकै इम्युन प्रतिक्रिया उत्पन्न गराउन सफल भएको विवरण यसअघिनै सार्वजनिक भएको थियो । सुरक्षित र प्रभावकारी साबित भएमा यो खोपको ३ अर्ब डोज उत्पादन गरिने कम्पनीले बताएको छ । मोडेर्ना र एस्ट्राजेनेकाले फरक प्रविधिबाट खोप निर्माण गरिरहेको भए पनि प्रक्रिया र प्रोटिन तत्त्वमा समानता भएकाले मोडेर्नाको प्रभावकारिता सम्बन्धी खबर यसका लागि पनि सकारात्मक संकेत भएको बताइएको छ ।
खर्च कति ?
खोप आइसके पछि सर्वसाधारणका लागि यसको मूल्य कति पर्छ ? यो प्रश्नको जवाफ भने आइसकेको छैन । खोप प्रकृति, उत्पादक देश तथा कम्पनी, लागत र मागको मात्रामा खोपको मूल्य निर्भर हुने गर्छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले गरिव तथा विपन्न मुलुकका लागि सहुलियत कायम गर्न सकेमा देशअनुसार मूल्य फरकफरक पनि पर्न सक्छ ।
फर्मास्युटिकल कम्पनी मोडेर्नाले सम्भावित खोप प्रतिमात्रा ३२ देखि ३७ डलर पर्ने जनाएको छ । एस्ट्राजेनेकाले भने महामारीको समयमा केही डलर मूल्य (सस्तो)मा खोप बेच्ने बताइरहेको छ ।
परिमाणको हिसाबले संसारको सबैभन्दा ठुलो खोप निर्माता भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया एसएसआईले प्रतिखोप तीन डलर बिक्री गर्ने बताइरहेको छ ।