नाम लक्ष्मी साह । ११ दिनकी सुत्केरी । उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ । तर, उनले नुन रोटी पनि खान पाएकी छैनन् । आमाको दूध खान नपाएर लक्ष्मीकी शिशु 'कोरोना' रुन्छिन् । विश्व कोरोनाको महामारीको चपेटामा छ । नेपालमा समेत गरिएको लकडाउनले लक्ष्मीलाई सुत्केरी गराउन अस्पताल लैजान कम्ती सास्ती भएन । त्यही समयमा जन्मिएकी छोरीको नामा कोरोना राखियो । पीडामै भए पनि आफ्नी छोरीको न्वारन गरिएको रोचक प्रसङ्ग सुनाइन् ।
मानिसको कर्म नामअनुसार नहुँदो रहेछ । धनधान्यकि देवी हुन् लक्ष्मी । तर एउटी सुत्केरी आमा नामले लक्ष्मी भए पनि यतिबेला गरिबीको मारले थिचिएकी छिन् । उनलाई नावालक शिशुको जीवन रक्षामा समस्या छ । आशा गरौँ माता लक्ष्मीलाई यो समस्यासँग जुध्न उपकारी हातहरू फेला पर्ने छन् ।
सुत्केरी परिवारमा अहिले छाक टार्न हम्मेहम्मे छ । लकडाउन घोषणा भएलगतै कोठामा भएको दाल चामल सकियो । लगतै लक्ष्मी सुत्केरी भइन् । त्यसयता उनको परिवार मागेरै गुजारा चलाइरहेका छन् । ‘सबैतिर काम बन्द छ । घरबाहिर गयो प्रहरीले लखेट्छ । घरमा अन्न छैन । के खाऊँ ?’ काखमा ११ दिनको शिशु च्यापेकी लक्ष्मीले भनिन् ।
अहिले उनको घरको चुलो निभेको छ । घरमा चामल छैन । काम गर्न जाने र सक्ने अवस्था पनि छैन । ‘बाहिर कतै छिमेकमा माग्न निस्कियो कि प्रहरीले लाठी हान्छ’, उनले दुखेसो पोखिन् । चामल, नुन, तेललगायत खानेकुरा पाए ठुलो राहत हुने आसमा छिन् लक्ष्मी । उनी भन्छिन्, ‘चामल सकिएको छ । चामल पाए नुनसँग पनि खान सकिन्थ्यो ।’
काठमाडौँ महानगरपालिका ३२ मा पर्ने नरेफाँटमा ११ दिनकी यी सुत्केरी आमालाई लकडाउनले सताएको छ । सरकारले दिने राहत उनीहरूको घरमा पुगेको छैन । उनका पति २५ वर्षीय राकेश साह रामेछापमा छन् । निर्माण क्षेत्रमा मजदुरी गर्न गएका उनी लकडाउनले उतै बस्न बाध्य छन् । कमाउन गएका श्रीमान् उता भोकै छन् ।
यता सुत्केरी लक्ष्मीलाई शिशुको स्याहारमा समस्या छ । उता छोराले पनि खान नपाएकोमा लक्ष्मीकी सासू पद्मालाई उस्तै छटपटी छ । ‘सँगै बस्न पाए मरे पनि सँगै, बाँचे पनि सँगै हुन्थ्यौँ । छोरो उता बिचल्लीमा छ रे, यता सुत्केरी बुहारी र हामी ।’ छोराबाट आफू स्याहारिने बेलामा ७० बर्षिया उनले ४० वर्षीय जेठो छोरा स्याहार्दै छिन् । जेठा छोरा रवि अपाङ्गता भएका व्यक्ति हुन् । केही दिनअघि वडा कार्यालयले राहतस्वरुप दिएको चामल र दाल सकिएको लक्ष्मीकी सासू पद्माले सुनाइन् । उनको भनाइ सुन्दा त्यसले कुनै राहत महसुस नै भएन ।
खान नपाउँदा लक्ष्मीको दूध सुकिसकेको छ । लक्ष्मीकी सासू पद्माले सोधिन्– ‘आमाले खान नपाएपछि, के दूध आउँथ्यो र नातिनीले खान पाउनु, सरकारले दिने भनेको चामल–दाल कहिले आउँछ ?’ दूध खान नपाएर चिच्याएको ११ दिनको शिशुको घाटी नै बसिसकेको छ । अब त उ रुनसमेत नसक्ने अवस्थामा भएको छ । लक्ष्मीको अघिल्लो छोरा ५ वर्षको छ । छोरा, सासू, अपाङ्गता भएका जेठाजुको लागि खाना जुटाउन समस्या छ । लक्ष्मीकी सासू पद्मा पुर्पुरोमा हात लगाउँदै भन्छिन्- ‘घरमा दाल, चामल केही छैन । बच्चालाई के खुवाऊँ ? हातमा पैसा छैन । पसलले पनि उधारो दिँदैन ।’
ज्याला मजदुरीले उनको ६ जनाको परिवार चलेको थियो । चैत ११ दिनदेखि उनीहरू घरभित्रै छन् । खाना जुटाउन समस्या छ । कमाइ हुँदा आफूहरू पालिएको भए पनि अहिले आम्दानी नहुँदा भोकभोकै रहेको लक्ष्मीका सासू पद्मा बताउँछिन् । उनले भनिन्– ‘कोरोना भाइरसभन्दा भोकमरीले नै हामी गरिब मर्छौँ ।
भोको पेटमाथि राजनीति
नरेफाटमा धेरै सुकुम्वासी बस्छन् । सामान्य अवस्थामा पनि यहाँका गरिबलाई हातमुख जोड्न मुस्किल छ । भोकाहरूलाई वितरण गर्न आएको राहतमा राजनीति हुँदा गरिब तथा निमुखा महिलाको गर्भदेखि काखे बच्चा र युवा, वृद्धवृद्धा भोकभोकै छन् । गरिबबाहेक केही थपलाई राहत दिनुपर्ने भन्दै वडा कार्यालयमा पार्टी प्रतिनिधिले आआफ्नै नामावली पेस गरेका छन् । गिट्टी कुट्ने, दैनिक ज्याला मजदुरी गर्ने, विपन्न, गरिबलाई राहत वितरण गर्ने भनिए पनि उनीहरूले पाएनन् ।
कोरोना भाइरसको महामारीसँग लड्न अरू बेलाभन्दा बढी पोषणको आवश्यकता हुने भए पनि अहिले गरिबहरूले केही नपाएको सोही टोलमा बस्ने सामाजिक अभियन्ता युवराज गुरुङ बताउँछन् । उनी भन्छन्, ‘सरकारले गरिबको चुलो निभ्न दिँदैनौँ भनेको थियो । तर खै राहतमा न्याय भएन । गरिबले पाएनन् । रोगसँग लड्न पनि राम्रो खानपान चाहिन्छ । तर गरिबहरूले एक पेट राम्रोसँग खानसमेत नपाउने अवस्था छ ।’
मानिसको कर्म नामअनुसार नहुँदो रहेछ । धनधान्यकि देवी हुन् लक्ष्मी । तर एउटी सुत्केरी आमा नामले लक्ष्मी भए पनि यतिबेला गरिबीको मारले थिचिएकी छिन् । उनलाई नावालक शिशुको जीवन रक्षामा समस्या छ । आशा गरौँ माता लक्ष्मीलाई यो समस्यासँग जुध्न उपकारी हातहरू फेला पर्ने छन् ।