बैशाख २२, २०८१, शनिबार
               

रियाकै पर्खाइमा दर्जनौँ सामुदायिक कुकुर

ADVERTISEMENT

काठमाडौँ । हरेक बिहान काठमाडौँकाे पशुपति, गौरीघाट, चाबहिल आसपासका कुकुरले एक जनाकाे बाटो हेरिरहेका हुन्छन् । जब एक युवती बाकसमा बिस्कुट वा मासुका चाेक्टाहरू लिएर आउँछिन् तब कुकुरको पर्खाइ सकिन्छ । अनि खुशीले पुच्छर हल्लाउँदै उनको नजिक पुग्छन् ।

काठमाडौंका सामुदायिक कुकुरहरू प्राय होटेल, रेस्टुरेन्ट, साना खाजाघरलगायतबाट फालिएका खानाजन्य फोहोर खाएरै बाँच्छन् । दयामायाकै कारण बाटोमा भेटिएका कुकुरलाई केही खानेकुरा दिने मानिस पनि छन् । बजार खुला र मानिसको चहलपहल हुँदा त्यति भोको रहँदैनन् कुकुर पनि ।

तर, लकडाउनका कारण मानिसहरू घरभित्रै थुनिए । घरपालुवा कुकुरहरूको आहारमा समस्या भएन। तर, खुला सडकमा डुल्ने सामुदायिक कुकुरहरू भने सुनसान सडकमा छटपटाउन थाले । लकडाउनमा मान्छे कोही बाहिर निस्किएनन् । दयामायाले दिने मान्छे भेटिनु त परको कुरा कसैले खाई नसकेर फालेको खाना समेत पाएनन् । मान्छेका माया पाएनन् । भोक, तिर्खाले सडकमै ढल्ने अवस्था आयो ।

ती कुकुरको लागि नयाँ जीवन दिन खानेकुरा लिएर सडकमा देखिइन् एक युवती । हरेक दिन उस्तैगरी हातमा बिस्कुटका झोला तथा बक्सा बोकेर निस्किरहेकी हुन्छिन् । टोलभरि कुकुरहरूले उनलाई घेरिरहेका हुन्छन् । खान दिन्छिन्, अघाउन्जेल खान्छन् । खान दिएर अघि बढ्न थाल्दा समेत कुकुर उनलाई पछ्याउँछन् । तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा मात्र करिब २६ हजार कुकुर सडकमा छन् । तीमध्ये चाबहिल वरिपरिका कुकुरहरूलाई उनले ख्याल गर्दै आएकी छिन् । 

उनी हुन् चाबहिल गौरीघाटकी २५ वर्षिया युवती रिया तिवारी । उनको अहिले दैनिकी नै बनेको छ, सामुदायिक कुकुरका लागि खानेकुरा दिनू । समाजसेवा गर्न रुचाउने उनको कुकुर प्रेम निक्कै पुरानो हो । धेरैको घरमा बिहान पाँच बजे चियासमेत उम्लिएको हुँदैन । तर रियाले बिहान कुकुरकै लागि केही खानेकुरा पकाउँछिन् । तर कहिले भने हतार हुँदा उनी बिस्कुट मात्र लिएर निस्कन्छिन् । ‘लकडाउनमा मान्छेले त कुनै न कुनै उपाय निकालेर गुजारा चलाउन सक्छ, पशुचौपाया पनि घाँस चर्न सक्छ,’ रिया भन्छिन् ‘तर सामुदायिक कुकुरहरूका लागि खानेकुरा केही छैन, उनीहरूलाई खुवाउनु पनि हाम्रो कर्तव्य हो ।’ 

आफ्नो यस्तो कामबाट सुरु सुरुमा परिवारले असहज माने पनि पछि सहयोग गर्न थालेको उनी बताउँछिन् । ‘दुःख भए पनि कुकुर अघाएको देख्दा खुसी लाग्छ, अहिले परिवारका सबैजनाले मलाई साथ दिएका छन्’ उनी भन्छिन् । उनले नियमित दाना बाँड्ने गरेका ठाउँका कुकुरले रियालाई चिन्छन् । सडकमा अरू कोही हिँड्दा झम्टने कुकुर उनलाई देख्नासाथ बुर्कुसी मार्दै ठेपिन आउँछन् । खाना लिएर गएको समयमा मात्र होइन बाटोमा हिँड्दासमेत झुम्मिन्छन् । कतै बाटोमा हिडिरहँदा उनीसँगै लुटुपुटु गर्न आउँछन् ।

यसरी कुकुरले समेत आफूप्रति प्रेम दर्साएपछि कतै हतारमा हुँदा पनि रिया एकछिन रोकिएर ती कुकुरलाई मुसारेर जान बाध्य बन्छिन् । ‘लकडाउनको समयमा मानिसहरूलाई थोरै भए पनि राहत वितरण भइरहेको छ । तर मानिसलाई सुरक्षा पनि दिने गरेका कुकुरले कतैबाट सहारा पाएका छैनन् । त्यसैले उनीहरूलाई आफूले सक्ने गरेको हुँ,’ उनी भन्छिन् । 

आफूहरूजस्तै अरूले पनि कुकुरलाई माया गर्ने हो भने ती जनावरलाई भोकभोकै बस्नु नपर्ने उनको सोच छ । कुकुरलाई खाना खुवाएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि धेरैले सहयोग गर्न खोजेको उनी बताउँछिन् । तर आफू कतैबाट राहत नलिने बरु सबैलाई सहयोग गर्न आग्रह गर्ने बताउँछिन् । रिया भन्छिन्– ‘मलाई केही सहयोग दिनुपर्दैन, आफू बस्ने ठाउँ वरिपरिका कुकुरलाई खान दिनुहोस्, माया गर्नुहोस्, त्योभन्दा ठुलो सहयोग केही छैन ।’

पशुप्रति किन कठोर सरकार ?
चैत १७ गते काठमाडौं महानगरपालिकाले दुई महत्त्वपूर्ण निर्णय गरेको थियो । पहिलो, काठमाडौँ महानगरपालिकाभित्र बसोबास गर्ने असहाय, विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरू खाना नपाएर समस्यामा परेकालाई राहत वितरण गर्ने । सो अनुसार राहत वितरण भइरहेको  छ । र अर्को हो सामुदायिक पशुपक्षीलाई आहाराको व्यवस्था गरिने ।

तर त्यो दोस्रो महत्त्वपूर्ण निर्णय प्रभावकारी कार्यान्वयन भएको देखिँदैन । कतै कतै पशुपंक्षीलाई आहारा दिइएको भए पनि, धेरै ठाउँमा खान नपाएकै कारण कुकुरलगायत पशु चौपाया भोकै ढलिरहेको देखिन्छन् ।

लकडाउनमा मात्र नभएर नियमित रूपमा पशुहरूको संरक्षित, सुरक्षित रहने अधिकारको सबै नागरिकले व्यवस्थापन गर्नुपर्ने रिया बताउँछिन् । उनी भन्छिन् ‘कुकुरलगायतका पशु चौपाया हाम्रो जीवनकै अङ्ग हुन् । प्रकृति चल्नको लागि यी सबै चाहिन्छ । सरकारको मात्र भर नपरी हामी सबैले सहयोग गरौँ ।’

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि