मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्षअघि वार्षिक परीक्षाको समयमा महिनावारी भए । महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास थियो ।
त्यसै कारण कक्षा ७ मा अध्ययनरत दुवै परीक्षा छोड्न तयार भए । तर, विद्यालय गएनन् । विद्यालय नजिकै देवीदेउताको मन्दिरसमेत भएकोले समाजकै डरले उनीहरू विद्यालय पुगेनन् ।
उनीहरुलाई अर्को प्रश्न पत्र बनाएर परीक्षा लिन विद्यालयलाई सम्भव थिएन । शिक्षकले पनि विद्यालय नै आएर परीक्षा दिन लगाउने आँट गरेनन् । बरु घरमै प्रश्न पत्र पुर्याएर शिक्षकको निगरानीमा परीक्षा दिन लगाइयो ।
यो कुरुक्षेत्रको एउटा प्रतिनिधिमूलक प्रसग मात्र हो । विद्यालय परिसरमै भगवती माई, कैलाश, मस्टा देउताका मन्दिर छन् । देउताकै डरले उनीहरु महिनावारी भएको पाँच दिन विद्यालय नआउने गरेको भावना आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक दिनानाथ चौधरीले बताए ।
छात्रा मात्र नभई विद्यालय पढाउने शिक्षिकादेखि विद्यालय व्यवस्थापन समितिका महिला सदस्यसमेत विद्यालयमा पढाउन र बैठकमा जाँदैनन् । महिनावारी हुन थालेका छात्राले वर्षको ६० दिन अनिवार्य विद्यालय बाहिर बस्नुपर्ने बाध्यता थियो । तर, हाल बिरामी र घरको अनिवार्य कामबाहेकका अरु दिन नियमित विद्यालय आउने गरेको शिक्षकको भनाइ छ ।
सोही नगरपालिका–४ कुरुक्षेत्रका देवलडाँडा मावि, भावना र बूढीनन्दा आधारभूत विद्यालयमा देखिने यी समान प्रकृतिका समस्या हुन् । महिनावारी हुँदा छात्रा विद्यालय नआउने देवलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रह्लाद श्रेष्ठले स्वीकार गरे । ‘अहिले केही समय भयो छात्रा नियमित विद्यालय आउँछन्, अघिल्लो शैक्षिक सत्रसम्म कोही पनि आउँदैन थिए’, श्रेष्ठले भने ।
विद्यालयमा छात्रानै बढी हुने तर, उनीहरुनै नआउँदा पठनपाठनमा समस्या भएर शैक्षिक उपलब्धिनै न्यून हुन्थ्यो । ‘यो शैक्षिक सत्रदेखि केही सुधार भएको छ’, प्रअ श्रेष्ठले भने । देवडाँडा माविको शैक्षिक उपलब्धि दर हालसम्म पनि ४० देखि ४५ प्रतिशत छ ।
‘छात्रा नियमित आउन थालेपछि सुधार भएको हो, केटाले मात्र नियमित कक्षा लिएर हुँदैन, शिक्षिका पनि नआउने दैनिकजसो पढाइ नै प्रभावित हुने गरेको थियो’, उनले पुःन भने ।
उनकाअनुसार अझै कुरुको घोडाकोट क्षेत्रका ३५ बढी छात्रा नियमित विद्यालय आउने गरेका छैनन् । बाटोमा दोगाडे खोला पर्ने र पर्वतबाट आएको पवित्र पानी महिनावारी भएको महिलाले नाघ्न नहुने अन्धविश्वासले नआएको बताइएको छ ।
तर यो शैक्षिक सत्रदेखि भने कुनै समस्या नभएको वडाध्यक्ष राजन रोकायाको भनाइ थियो । कुरुक्षेत्रलाई देवभूमिको रूपमा चिनिन्छ । कुरुक्षेत्रमा १२ कोटी देउता बस्ने गरेको धार्मिक मान्यता छ ।
हिँड्ने बाटोसमेत अलग हुने र सिंगो बस्तीमासमेत छाउ हुँदा बस्न नपाइने प्रचलन छ । राज्यले ल्याएको कानून र त्यसको कार्यान्वयनसँगै सबै प्रकारका विभेद र अन्धविश्वास हटाउने अभियानपछि अवस्था सुधार हुँदै गएको छ ।
‘वर्षमा ६० दिन बढी छात्रा गयल हुनुपर्ने अवस्था थियो, अब त्यो हटेको र शैक्षिक गुणस्तरमा सुधार देखिन थालेकामा खुशी लागेको छ’, वडा अध्यक्ष रोकायाले भने ।
विद्यालयमा पढाइ र शैक्षिक उपलब्धिसँगै महिलाको स्वास्थ्य र सुरक्षामा पनि सुधार हुँदै गएको भावना आधारभूत विद्यालयका शिक्षिका बेलकुमारी रोकायाले बताइन् ।
पिसविन नामक गैरसरकारी संस्था र वडा कार्यालयले संयुक्तरूपमा छाउपडीविरुद्धको अभियान चलायो । गोठ भत्काएपछि बल्ल नियमित विद्यालय आउने र गोठ छोडेर घरभित्र बस्न थालेको वडाध्यक्ष रोकायाको भनाइ थियो ।
जनप्रकाश मावि कोल्टी कक्षा १२ मा पढ्ने करिश्मा रोकायासँग छाउ हुँदा विद्यालय नगएको सम्झना छ । ‘केही समययता मात्र हामी महिनावारी हुँदा विद्यालय आउने गरेका छौँ, त्यो पनि पिसविनका सर, वडा कार्यालयको दबाबमा नत्र कोही पनि विद्यालय आउने गरेका थिएनन्’, उनको भनाई थियो ।
गाउँमा लामो समयदेखि छाउ कुप्रथाविरुद्ध अभियान सञ्चालन भइरहे । स्थानीयले कुरा सुने पनि कतिपयले त्यसलाई बेवास्ता गरे । गोठ भत्काउने र राज्यले दिने सुविधा रोक्ने लगाएका दबाबमूलक अभियानपछि बाध्य भएर विद्यालय जाने र घरमा बस्ने गरेको पिसविन स्थानीय अधिकार परियोजनाका कार्यक्रम संयोजक पदम कठायतले बताए ।
गाली गर्ने, गाउँ प्रवेशमा रोक लगाउने धम्की दिने गरेको स्मरण गर्दै कठायतले गाउँमा हाल कुनै गोठ नभएको र कुनै पनि छात्रा छाउ हुँदा विद्यालय बाहिर नरहेको परियोजना संयोजक कठायतले बताए ।
उक्त वडामा दुई हजार जनाको बसोबास छ । तीन वटा सामुदायिक विद्यालय छन् । देउताको मन्दिर बनाएर, मूर्ति चढाएरै भए पनि छाउ हुँदा घरमा बस्ने र विद्यालय नियमित जाने गरेको स्थानीय पिरुकला बोगटीले बताइन् । कुरुक्षेत्रमा मात्र ४० बढी गोठ भत्काइएका छन् ।
पछिल्लो समयमा स्थानीय प्रशासन, संघसंस्था, प्रहरीको सक्रियतामा छाउगोठ भत्काइएका छन् । यहाँका ९ वटै स्थानीय तहका ६९ वडामा रहेका छाउपडी गोठ प्रहरी, जनप्रतिनिधि र गैरसरकारी संस्थाको सहभागितामा हटाउने गरेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।