बैशाख २२, २०८१, शनिबार
               

भुटानको ड्रुुक एअरको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान

नेपाल फ्ल्यास
भदौ २३, २०८०

ADVERTISEMENT

कास्की । भुटानको ड्रुक एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गरेको छ । 

भुटानको राजधानी थिम्पुमा रहेको पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ बजेर ४० मिनेटमा पोखरा ओर्लिएको जहाज यहाँबाट ८ बजेर १५ मिनेटमा ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको थियो । 

चार्टर्ड उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले जानकारी दिए । उनले नेपाल नगारिक उड्डयन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एअरले तिरेको बताए । 

भुटानको पारो विमानस्थलबाट शनिवार बिहान ५ बजेर ५५ मिनेटमा उडेको ड्रुक एअरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४० मिनेटमा अवतरण भएको थियो । १ सय ५० सिट क्षमता भएको जहाजमा जम्मा भुटानबाट ३ जना यात्रु आएका थिए भने फर्किँदा ४२ जना यात्रु फर्किएका थिए । भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १—१ जना थिए ।

पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन् । 

पोखराबाट भुटान जाने पर्यटक नेपालमा चार दिन पहिले आएका थिए । अमेरिकन पर्यटकहरु हेलिकप्टरमा घुम्ने, महँगा होटल, रिसोर्टमा बस्ने र साहसिक गतिविधिमा भाग लिने गरेका छन् । नेपालमा प्याकेज बनाएको ट्राभल एजेन्सीका अनुसार चार्टर्ड जहाजमा फर्किएका पर्यटकले दिनमै ७—८ सय डलरसम्म खर्च गरेका थिए । उनीहरुले चार दिनमा नेपालमा मात्रै करिब साढे २ करोड रुपैयाँ खर्च गरेको ट्राभल एजेन्सी प्रतिनिधि हेमन्तराज कोलाक्षपतिले जानकारी दिए । 
भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषद्ले एअरपोर्टमा स्वागत गरेको थियो भने जानेलाई बिदाइ गरेको थियो । विमानस्थलमा आउने र जाने पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री दिपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायत पर्यटन व्यवसायीहरुले स्वागत र बिदाइ गरेका थिए । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दोस्रो चार्टर्ड उडान हो । गएको असार ६ गते बुधवार पहिलो पटक चीनको छेन्दुक सहरबाट सिचुवान एअरलाइन्सको एअरबस–३१९ विमानस्थलमा अवतरण गरेको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि