बैशाख २१, २०८१, शुक्रबार
               

अझै बन्न सकेन सिरहाको भगवानपुर सबस्टेसन

नेपाल फ्ल्यास
भदौ ०७, २०८०

ADVERTISEMENT

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनले अझै पूर्णता पाउन सकेको छैन । 

नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सबस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाण्डौको ढिलासुस्तीले सबस्टेसन बन्नमा भएको हो । अहिलेसम्म जम्मा ७७ प्रतिशत मात्र काम भएको छ ।  

सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सबस्टेसनको भवन, ट्रान्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए ।

विसं २०७४ असोज ६ गतेदेखि कार्य शुरु गर्ने सम्झौता भइ १८ महिनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रो पटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति बन्न सकेको छैन । निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सबस्टेसन कार्य अघि बढाइने छ । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण  हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए । उनले भने, स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो । लहान वितरण केन्द्रअन्तर्गत ग्राहक सङख्या अहिले ७० हजार रहेका छन् ।  

गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सबस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ । प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि तीन सय ७६ पोल गाड्नुपर्ने बताए । अहिले पोल गाड्ने काम भइरहेको उनको भनाइ छ । सबस्टेसन १९ करोड ४० लाख रुपैयाँको लागतमा बनिरहेको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि