बैशाख १५, २०८१, शनिबार
               

एक वर्षमा ३ हजार ६ सय ९५ फर्मको अनुगमन
अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप संलग्न झण्डै ८ सय फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । विभागले गएको आर्थिक वर्ष २०७९—८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक जरिबाना समेत गरेको छ । 

एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिबाना गर्दा एक करोड ९८ लाख चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिए । उनका अनुसार सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइएको छ । 

एक वर्षमा विभागले तीन हजार छ सय ९५ व्यावसायिक फर्मको अनुगमन गर्दा दुई हजार तीन सय ३८ वटा व्यावसायिक फर्ममा कैफियत भेट्टाएको थियो । दुई सय ९३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, एक हजार एक सय ५५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको, सात सय ९९ वटा फर्मलाई कारबाहीस्वरुप जरिबाना गरिएको र ९१ वटा फर्ममा अखाद्य वस्तु भेटिएपछि नष्ट गरिएको थियो ।

यस्तै, यो अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएका एक करोड ६४ लाख ३२ हजार मूल्य बराबरको वस्तु नष्ट गर्न लगाइएको थियो । विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर बजार अनुगमन गर्दै आएको छ । तर, अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो छ ।

विभागले अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गरिएको विभागले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि