मंसिर ०६, २०८१, बिहीबार
               

यस्तो छ काठमाडौं महानगरको कर, न्युज पोर्टललाई पाँच सय, अरुमा कति ?

नेपाल फ्ल्यास
असार ११, २०८०

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करका दर तोकेको छ। अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० नगरसभामा प्रस्तुत गर्दै महानगरले करका दर तोकेको हो।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो। महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हल्का पेय पदार्थ उद्योग (कोकाकोला, पेप्सीकोला र फ्रुटी आदि) घरेलुमा दर्ता भएका ५० हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेय पदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रूपमा वार्षिक शुल्क दुई हजार, डिस्टिलरी उद्योगलाई ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई  १० हजार रुपैयाँ कर तोकिएको छ।

चलचित्र निर्माण कम्पनीलाई १५ हजार तथा वितरक कम्पनीलाई रु पाँच हजार कर तोकिएको छ। मिनिरल वाटर उद्योगलाई पाँच हजार, आइसक्रिम उद्योग ठूलो (तीन किलोवाटभन्दा माथि) लाई १० हजार र यस्तो घरेलु उद्योग (तीन किलोवाटसम्म) लाई दुई हजार रुपैयाँ कर तोकिएको छ।

ब्राण्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई १० हजार र यस्ता घरेलु उद्योगलाई दुई हजार रुपैयाँ कर तोकिएको छ। डेरी उद्योगले १० हजार, कुटानी–पिसानी मिलले पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले १२ हजार, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले पाँच हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

खाद्यान्न उद्योग(पाँच किलोवाटभन्दा माथि) का लागि १० हजार र यस्ता साना उद्योगलाई पाँच हजार रुपैयाँ कर तोकिएको छ। कार्पेट, गार्मेन्ट, पस्मिना र प्लास्टिक उद्योगले १० हजार रुपैयाँ कर तिर्नुपर्नेछ। कापी, किताब तथा मुद्रण उद्योगका लागि क्षमताअनुसार दुई हजारदेखि १२ हजार, जमिनमुनिको पानी प्रशोधन उद्योगका लागि ५० हजार, बोतल र जार पानी उद्योगका लागि सात हजार रुपैयाँ कर तोकिएको छ।

डसना, कुसन बनाउने उद्योगलाई पाँच हजार र हर्बल उद्योगलाई दुई हजार रुपैयाँ कर लाग्नेछ। सडक पुल, रोपवे, रेलवे, टनेल, फ्लाइब्रिज तथा औद्योगिक, व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने उद्योग व्यवसायलाई २५ हजार कर लाग्नेछ। किराना पसल खुद्रा पसलका लागि दुई हजार, थोक किराना पसलका लागि पाँच हजार, थोक खाद्यान्न बिक्रेतालाई १० हजार, खाद्यान्न खुद्रा बिक्रीमा तीन हजार, मौरीपालन व्यवसायमा दुई हजार र कुखुराको चल्ला बिक्री गर्दा तीन हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

त्यस्तै, फलफूल, जुस तथा तरकारी बेच्ने खुद्रा पसलका लागि एक हजार, फलफूल तथा तरकारी थोक पसलका लागि दुई हजार, फलफूल र बिरुवा बिक्रेता (नर्सरी) लाई दुई हजार रुपैयाँ कर तोकिएको छ। 

माछा–मासु, अण्डा खुद्रा बिक्रेताले दुई हजार पाँच सय र थोक बिक्रेताले ६ हजार कर तिर्नुपर्नेछ। प्रशोधित मासुजन्य बिक्री व्यवसायमा पाँच हजार रुपैयाँ कर तोकिएको छ। तरकारी खेती, पशुपक्षी पालनलगायत अन्य कृषिजन्य कार्य गर्ने व्यवसायका लागि दुई हजार, पेट शप (घरपालुवा पशुपक्षीको आहारा बिक्री) गर्ने थोक पसलका लागि सात हजार र खुद्रा पसलका लागि तीन हजार रुपैयाँ कर तोकिएको छ। 

त्यसैगरी, कुकुर प्रजनन केन्द्र (डग ब्रिडिङ फर्म) का लागि पाँच हजार, आधुनिक पशु वधशाला, तरकारीको बीउ बिजन खरिद बिक्री गर्ने पसलका लागि दुई हजार रुपैयाँ कर तोकिएको छ।

होटेल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटेलका लागि एक लाख, चारतारे होटेलका लागि ८० हजार, तीनतारे होटेलका लागि ६० हजार, दुईतारे होटेलका लागि ४० हजार र एकतारे होटेलका लागि २०  हजार रुपैयाँ कर लाग्नेछ। चलचित्र प्रदर्शनी घर, साधारण होटेल, लज, गेस्टहाउस, ५० जनाभन्दा बढी क्षमताको होमस्टे, रेस्टुरेन्ट एन्ड बार (डान्स, दोहोरीबाहेक), ट्राभल एन्ड ट्रेकिङ एजेन्सीका लागि १० हजार रुपैयाँ कर लगाइएको छ।

मसाज पार्लर, स्पा, ज्याकुजी, सौनाबाथ, स्विमिङपुलका लागि पनि १० हजार कर तोकिएको छ। पर्यटकीय खेल (गल्फ र्कोस, र्याफ्टिङ, सफारी, अश्वारोहण, स्किइङ, ग्लाइडिङ, वाटरर्याफ्टिङ पोनिट्रेकिङ, प्याराग्लाइडिङ, पोलो, बन्जी जम्प, केबुलकार, रिसोर्ट, होटेल आदि) को सम्पर्क कार्यालयका लागि तीन हजार कर लाग्नेछ।

विदेशी विमान सेवा प्रदायक कम्पनीलाई ५० हजार र स्वदेशी विमान सेवालाई २५ हजार कर तोकिएको छ। वायुयान भाडामा लगाउने व्यवसाय गर्ने कम्पनी, डिस्को, नाइट क्लब, वैदेशिक रोजगार सम्पर्क व्यवसायलगायतलाई २५ हजार कर लाग्नेछ।

त्यसैगरी, क्यासिनोमा तीन लाख र मिनी क्यासिनोलाई २५ हजार कर लगाइएको छ। ट्रेकिङ सामान पसल, मनोरञ्जन सेवा प्रदान गर्ने व्यवसाय, थान्का पसल, डान्स  ट्रेनिङ सेन्टर, सङ्गीतसम्बन्धी सेवा प्रदान गर्ने व्यवसाय, ट्याटु हाउसलाई पाँच हजार कर तोकिएको छ। ५० जना सम्मको होस्टेलका लागि तीन हजार र ५० जनाभन्दा बढीको होस्टेलले पाँच हजार कर तिर्नुपर्नेछ।

मेकअप स्टुडियोले तीन हजार, पाँच रोपनीसम्म क्षेत्रफल भएको फन पार्कले १० हजार, १० रोपनीसम्म क्षेत्रफलमा फैलिएकाले २० हजार र दश रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको फनपार्कले ३० हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

सञ्चार क्षेत्रतर्फ टेलिभिजन प्रसारण कम्पनीलाई  पाँच हजार, एफएम स्टेसनलाई एक हजार, अनलाइन सेवा बिजनेसलाई दुई हजार, अनलाइन न्युज पोर्टललाई ५०० रुपैयाँ कर तोकिएको छ। राष्ट्रिय पत्रिकाले दुई हजार, स्थानीय पत्रिकाले एक हजार रुपैयाँ तिर्नुपर्नेछ। साइबर क्याफेलाई दुई हजार कर तोकिएको छ।


कस्तो लाग्यो ?

यो पनि