बैशाख २५, २०८१, मंगलबार
               

तिहारमा १८ लाख थान माला बिक्री हुने अनुमान

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

काठमाडौं । यो वर्षको तिहारमा फूलमालाको माग केही बढ्ने देखिएको छ । कोरोना महामारी असर कम हुँदै जाँदा यो वर्ष धेरै नागरिकले तिहार मनाउँदैछन् । साथै, माला नकिन्ने गरेकाहरूले घरमै रोपेका फूलका बोट कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले कुहाइदिएको छ । यसकारण गत वर्षभन्दा यसपटक फूलमाला धेरै किनबेच हुनेछ । गत वर्ष तिहारको तुलनामा यो वर्ष ४/५ लाख वटा मालाको माग बढ्ने फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनले भने, ‘तिहारमा २० करोड रुपैयाँ हाराहारीमा माला खपत हुने अनुमान गरेका छौँ ।’

गत वर्ष कोभिड–१९ महामारीका कारण तिहारमा जम्माजम्मी १३/१४ लाखवटा माला बिकेका थिए । तामाङले गत वर्षको तिहारमा १० देखि १२ करोड रुपैयाँका माला बिकेको तथ्यांक संकलन भएको बताए । उनले यो वर्षको तिहारमा १८/१९ लाखवटा माला खरिद/बिक्री हुने आँकलन गरेको जानकारी दिए । मखमली र गोदावरीको माला ३ लाखवटा र सयपत्रीका १५ लाखवटा माला बिक्री हुने उनको भनाइ छ ।

तिहारमा बजारबाट आउने मखमली मालाको माग भने स्वदेशी उत्पादनले नै धान्ने आंकलन छ । तिहारको माग धानेर मखमलीको एक लाखवटा माला निर्यातसम्म हुने एसोसिएशनले जानकारी दिएको छ । 

तर, तिहारमा सयपत्री फूलको मालाको माग धान्न भने स्वदेशी उत्पादन पर्याप्त छैन । तिहारमा १५ लाखवटा माला खपत हुनेमा स्वदेशी उत्पादनबाट करिब १२ लाखवटा माला बन्ने एसोसिएशनले जनाएको छ । बाँकी मालाको माग धान्न भारतबाट ३ लाख गोटा हाराहारीमा आयात गर्नुपर्ने हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि